सुदूरपश्चिम । धनगढीमा जारी ‘एनआइएमबी सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ मा मधेस प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।
आज भएका खेलमा जीत हात पार्दै मधेसले लगातार दोस्रो जीत हात पारेको हो । गण्डकीको जीत भने पहिलो हो । स्थानीय फाप्ला मैदानमा आज भएको खेलमा मधेसले कर्णालीलाई ४९ रनले पराजित गर्यो ।
अर्को खेलमा गण्डकीले कोशी प्रदेशलाई १२ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको मधेसले सबै विकेट क्षतिमा एक सय २५ रन बनायो । उसका लागि राहन शाहले ३९ रन र चन्दन रायले २७ रन बनाए ।
कर्णालीका लागि विपिन शर्माले तीन विकेट तथा लक्की बम र दीप पौडेलले दुई/दुई विकेट लिए । प्रतिउत्तरमा कर्णाली प्रदेशले निर्धारित ओभरमा नौ विकेट क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो ।
उसका लागि दिपेश रावतले १५ र रोशन शाहीले १३ रन बनाए । मधेसका लागि पप्पु यादवले तीन विकेट र रोहन शाहले दुई विकेट लिए । खेलमा दुई विकेट लिएर ३९ रन बनाएको मधेस प्रदेशका राहन शाह ‘प्लेयर अफ द म्याच भए ।
अर्को खेलमा गण्डकीले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन बनायो । गण्डकीका लागि रोहित कुँवरले ५१ रनको अर्धशतकीय पारी खेले । रोहित चन्दले ३७ रन बनाए ।
कोशीका लागि प्रतिक पोखरेल सौजन घिमिरेले तीन/तीन विकेट र प्रेम कामतले दुई विकेट लिए । प्रतिउत्तरमा कोशीले निर्धारित ओभरमा आठ विकेट क्षतिमा एक सय ५० रन मात्रै बनाउन सक्यो ।
उसका लागि दिपु भूजेल र शिवांश बजगाईंले समान ३५/३५ रन बनाए भने सौजन घिमिरेले २३ रन जोडे । गण्डकीका लागि सिब्रिन श्रेष्ठले चार विकेट र अश्विन थापाले दुई विकेट लिए । चार विकेट लिएका गण्डकीका सिब्रिन श्रेष्ठ खेलको प्लेयर अफ द म्याच भए ।
प्रतियोगिताअन्तर्गत भोलि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच तथा अर्को खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुँदैछ । प्रतियोगितामा देशका सातवटै प्रदेशको क्रिकेट टीमको सहभागिता रहेको छ ।