पर्वत । पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ ।
पन्ध्र शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो । रु २८ करोडको लागतमा बन्न लागेको भवन निर्माणाधीन अवस्थामै जमीन भासिएपछि अलपत्र बनेको हो ।
सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा ‘इ’ ब्लकको काम अझै पनि बाँकी रहेको हो ।
‘इ’ ब्लक कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ बन्दै छ । जमीन भासिएपछि भवनको काम रोकिएका निर्माण कम्पनीका प्रतिनिधि अमितकुमार पाण्डेले जानकारी दिए।
‘इ’ ब्लकको भवनको भुइँतलामा ‘अपरेसन थिएटर’, दोस्रो तलामा ‘मातृ स्वास्थ्य’ को ब्लक र त्यो भन्दा आवश्यकताअनुसारको ‘ब्लक’ बनाउने गरी भवनको निर्माण चलिरहेका बेला भवनको भुइँ तलाको भागमा ‘बिम’ रहेको ठाउँबाहेकको जमीन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको हो ।
विसं २०७७ को असार-साउनदेखि भासिन सुरु गरेको भवनको ‘बिम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि भवन थप जोखिममा रहन सक्ने जनाउँदै निर्माणको थप काम हुनसकेको छैन ।
भू-गर्वविद्हरूले भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन ल्याउने भनिए पनि अहिलेसम्म त्यो ‘रिपोर्ट’ नआउँदा भवनको काम बाँकी रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताइन् ।
“तीन वर्ष अगाडि निर्माण चलिरहेको बेलामा भासियो, लगत्तै कोभिडको लहर सुरु भएकाले यसको थप काम अगाडि बढ्न सकेन”, उनले भनिन् । पहिले माटो परीक्षण गरेर भवन निर्माण थालिएको भए पनि बीचैमा समस्या आएपछि फेरि पनि माटो परीक्षणका लागि पठाइएको छ ।
सहरी विकास कार्यालय त्यही प्रतिवेदनको पर्खाइमा बसिरहेको छ । मोदी खोलाको किनार गण्डकीको भन्दा टाढा भएकाले अरू भवनमा क्षति नभई ‘इ’ ब्लकमा मात्रै भासिएको हुनसक्ने भू-गर्वविद्हरूले अनुमान गरेका थिए ।
‘इ’ ब्लकको भवन रहेको बाहेक अस्पतालका लागि निर्माण गरिएको पानी ट्याङ्की नजिकैको जमीनसमेत भासिएको छ । भवनको नजिकै रहेको महिला तथा बालबालिका विकास कार्यालयको भवनको निर्माण चलिरहेको बेलामा पनि जमीन भासिएको थियो ।
भवनको भासिएको भाग कति गहिराइमा भासिएको छ भन्ने यकिन नै नभएका कारण भू-गर्वविद्हरूको सिफारिसबिना भवनको थप काम हुनसक्ने अवस्था नभएको डा अधिकारीले बताइन् ।
भासिएको भागको अन्तिम बिन्दु कहाँ पुगेको छ भन्ने यकिन नभएको तर, मुखमा ठूलो भ्वाङ रहेकाले थप दुर्घटना हुन नदिन जस्ता र काठले भ्वाङ ढाकिएको छ । निर्माणकै क्रममा भासिएपछि काम अगाडि बढाउने वा नबढाउने भन्ने चिन्ता देखिएका कारण पनि ठेकेदारले काम अगाडि नबढाएको हो ।
निर्माणको जिम्मा पाएको गोरखा कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर अमितकुमार पाण्डेले भू-गर्वविद्को टोली अध्ययनका लागि आउन लागेको बताए।
“उनीहरूले पनि आफूले प्राप्त गरेको नतिजाका आधारमा अब के गर्ने भन्ने कुरा सुझाएपछि हामी निर्माणको क्रममा अगाडि बढ्ने छौं”, उनले भने, ‘भू-गर्वविद्हरूको सुझावका आधारमा अघि बढ्छौं ।”
भवनको संरचनामा कुनै पनि समस्या नरहेको कुरा ‘बिम’ र ‘पिलर’ बाट पुष्टि हुने अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष गोविन्द पहाडीले बताए। “यसको उपचार भनेको भासिनुको कारण पत्ता लगाउने र आगामी दिनमा थप क्षति हुन नदिने उपायलाई कार्यान्वयन गर्ने भन्ने रहेछ ।”, उनले भने ।
कारण पत्ता लगाउनका लागि भू-गर्वविद्लाई सम्पर्क गरेर भारतदेखि मगाएर परीक्षण गरिएको उनको भनाइ छ । भू-गर्वविद्को पहिलो परीक्षणबाट भासिनुको कारण र उपचारका बारेमा पत्ता लाग्न नसकेपछि भवनको काम पूरा गर्न झनै समस्या भएको पहाडीले बताए।
भवनका अन्य ब्लक भने निर्माण सम्पन्न भएर अस्पतालका सेवासमेत सोही भवनवाट सञ्चालन गरिएको छ ।