काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
यस कार्यमा संलग्न रहेका दोलखाको भिमेश्वर नगरपालिका-८ घर भएका ३७ वर्षीय शम्भु कार्की पक्राउ परेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलालाई साथी बनाई कुराकानी गर्दै जाने क्रममा उनले पीडितको अश्लिल भिडियो तथा फोटोहरु निजको आफन्त वा घरपरिवारका सदस्यलाई पठाइदिने धाक धम्की दिँदै रकम माग्ने गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार (हिजो) उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका कार्कीलाई आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले बताए ।