काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा थ्रीस्टार क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो । थ्रीस्टारको जीतमा लाकेन लिम्बूले निर्णायक गोल गरे । उनले खेलको १४औं मिनेटमा गरेको एक गोल नै थ्रीस्टारका लागि निर्णायक गोल सावित भयो ।
त्यस्तै, खेलको ४८औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा गोल गर्न सकेनन् । थ्रीस्टारका पिटर सगुनले अबायोमीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो जसको सदुपयोग गर्न सकेन ।
यो जीतसँगै थ्रीस्टार १० खेलमा १८ अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान १० खेल नै खेलेको हिमालयन शेर्पा नौ अङ्क जोडेर अङ्कतालिकाको १३औं स्थानमा रहेको छ ।