पोखरा । पार्किङ गरेर राखिएको यात्रुवाहक बसबाट टेलिभिजन सेट चोरी गरेर छिमेकीलाई बेचेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत फाल्गुन १८ गते राती पोखरा महानगरपालिका-४ गैह्रापाटनमा पार्किङ गरी राखेको ग १ ख ८९७४ नम्बरको बसमा राखिएको एलजी कम्पनीको ४२ इन्चको टी.भी., स्पिकर, र क्यासेट चोरी भएको थियो ।
उक्त घटनामा अनुसन्धान गर्दा धादिङ ज्वालामुखी गाउँपालिका-६ स्थायी घर भई पोखराको गैह्रापाटन बस्ने वर्ष २६ को बिनोद परियार संलग्न भएको खुलेको थियो ।
उनले चोरी गरेको टेलिभिजन छिमेकीलाई बिक्री गरेको भन्ने खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले चोरी भएको टिभीसहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका परियारलाई कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार वि.क.ले बताए ।