काठमाडौँ । खातामा पर्याप्त रकम नभएको चेक दिएर बैङ्किङ कसुर गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका-७ घर भई अहिले भक्तपुरको सुर्यविनायक नगरपालिका-४ बस्ने वर्ष ४० को रश्मी सिग्देल रहेकी छन् ।
सिग्देलले सविना ओझालाई २०७९ वैशाख २५ गतेको मितिमा आफ्नो नाममा रहेको एभरेष्ट बैङ्क लिमिटेडको बैङ्क खाताको चेक दिएकी थिइन् । तर, बैङ्कमा जाँदा उक्त चेक पर्याप्त रकम नभएको भन्दै बाउन्स भएपछि ओझाले बैङ्किङ कसुरमा मुद्दा चलाएकी थिइन् ।
प्रहरीले सिग्देललाई पुस ३ गते पक्राउ गरेर १५ दिन थुनामा राखेको थियो । त्यसपछि उनी तीन लाख धरौटी बुझाएर रिहा भएकी थिइन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नरिश्वर भण्डारीले गत फाल्गुन २३ गते गरेको फैसलामा सिग्देलले २६ लाख ९८ हजार ५०० रुपैयाँ तिर्नुपर्ने देखिएको थियो। अदालतले ३० लाख रुपैयाँ जरिवाना र १० दिन कैद सजाय निर्धारण गरेकोमा उनी १५ दिन कैद बसेको र तीन लाख रुपैयाँ धरौटी राखेकोमा त्यसबाट घटाएर २६ लाख ९८ हजार ५०० जरिवाना तोकिएको हो ।
सिग्देलले आफूले ओझासँग १५ लाख रुपैयाँ मात्र ऋण लिएको र पटक पटक गरी १२ लाख रुपैयाँ तिरिसकेको बाँकी तीन लाख मात्र रहेको बयान दिएता पनि उक्त रकम बुझाएको कुनै बैङ्क भौचर वा कागजात नभएकाले उनको भनाइमा सत्यता नदेखिएको अदालतको आदेशमा उल्लेख छ ।
अदालतको फैसलापछि सम्पर्कविहीन भएकी सिग्देललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनको टोलीले बुधवार पक्राउ गरेको हो ।
पक्राउ परेकी सिग्देललाई फैसला कार्यान्वयनको लागि आज भक्तपुर जिल्ला अदालतमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले बताए ।