रामपुर (पाल्पा) । पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ ।
बुधवार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरा तानसेन नगरपालिकाद्वारा डोजर लगाएर हटाउने कार्य सुरु भएको छ ।
सङ्ग्रहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाई पर्यटकीयस्थलको रूपमा विकास गर्न त्यस क्षेत्रमा रहेका अव्यवस्थित घरटहरा हटाउन थालिएको हो । दरबारको सुन्दरता कायम गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी संरचनामा बनेका घरटहरा नगरपालिकाले डोजर लगाएर हटाउन थालेको छ ।
तानसेन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीसहित गएको डोजरले घरटहरा तथा पसल भत्काउन सुरु गरेको छ । शित्तलपाटी मूलढोका र दरबार क्षेत्र वरपर रहेका ५७ घर संरचना भत्काउन लागिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बताए।
अव्यवस्थित संरचना हटाउन दुईवटा डोजर परिचालन गरेर काम सुरु गरिएको प्रवक्ता कार्की बताउँछन् । नगरपालिकाको स्वामित्वमा तानसेन-४ मा रहेका १३ वटा घरटहरासहित घरेलु शिल्पकलाका १३, नेपाल रेडक्रसको तीन, कर्मचारी मिलन केन्द्रको तीन, बाल सङ्गठनको एक तथा अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा भत्काइने तानसेन नगरपालिकाले जनाएको छ ।
सटरमा पसल तथा कार्यालय चलाइरहेकालाई नगरपालिकाले वैशाख ६ गतेसम्म सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो । सटर भत्काउने समय सीमा दिएपछि यहाँका व्यवसायीले मंगलवार नै रातारात सटर खाली गराएका छन् ।
यहाँका अधिकांश पसलको भाडासमेत वर्षौंदेखि नगरपालिकाले पाएको छैन । यसरी अव्यवस्थित तरिकाले बनेका घरटहरा हटाउने कार्यले यहाँको बजार व्यवस्थित बन्नेछ । लुम्बिनी र पोखराको बीच भागमा रहेको पाल्पाको तानसेन पर्यटकीय सहरको रुपमा विकास भइरहेको छ ।
यहाँ दुई ठूला पर्यटकिय सहरको बीचमा रहेकाले पनि बाह्य पर्यटक भित्रिने गरेका छन् । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, धार्मिक सम्पदाका कारण विभिन्न जिल्ला तथा देशबाट पर्यटक तानसेन आउने गर्दछन् ।