काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले साविक विजेता मछिन्द्र फूटबल क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले मछिन्द्र फूटबल क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो । एपीएफको जीतमा अर्मान्ड बेडोमले गोल गरे । उनले खेलको पहिलो हाफमा गरेको एक गोल नै एपीएफका लागि निर्णायक सावित भयो ।
खेलको ३९औं मिनेटमा कप्तान नविन लामाको पासमा अर्मान्डले गोल गरेका हुन् । यस जीतसँगै एपीएफ १० खेलबाट १४ अङ्क जोडेर अङ्क तालिकाको आठौं स्थानमा उक्लिएको छ । त्यस्तै, पराजित मछिन्द्रले १३ अङ्क जोडेर अङ्क तालिकाको नवौं स्थानमा झरेको छ ।