खजुरा । नेपालगन्ज उपमहानगरपालिका-२ स्थित बागेश्वरी मन्दिर परिसरभित्रको जुङ्गे महादेव मन्दिर पुन:निर्माण गरिने भएको छ ।
उपमहानगरपालिकाले मन्दिर पुन:निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ । जुङ्गे महादेवको प्रतीमा रहेको सो मन्दिर तालमाथि रहेको छ ।
मन्दिर पुन:निर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत् राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए। एक वर्षभित्र निर्माण सक्ने गरी काम अघि बढेको उनको भनाइ छ ।
प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीचमा रहेको जुङ्गे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेशमार्ग रहेका कारण शिवरात्रिलगायत चाडपर्वमा दर्शनार्थीलाई असहज हुने गरेको थियो ।