खजुरा । कोभिड-१९ को महामारीका क्रममा नेपालगन्ज सीमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर स्थानीय प्रशासनले त्यसको विकल्प खोज्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ । तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव सङ्कलन गरेको स्थानीय प्रशासनले प्राप्त सुझावका आधारमा मन्त्रालयलाई प्रस्ताव पठाएको हो ।
“हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के-के गर्न सकिन्छ भनेर सुझाव मागेको थियो, तीन विकल्प पठाएका छौं”, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भने। स्थानीय प्रशासनले बहुउपयोगी एकीकृत पुन:स्थापना केन्द्रको सम्भावना औंल्याएको छ ।
पुन:स्थापना केन्द्र सञ्चालन गर्न सके एकै ठाउँमा धेरैलाई सेवा दिन सकिने उनको भनाइ छ । होल्डिङ सेन्टरलाई अस्पतालका रूपमा उपयोग गर्नसमेत सुझाव आएको छ । भेरी अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकाले वैकल्पिक अस्पतालका रूपमा उक्त संरचना प्रयोग गर्न प्रस्ताव गरिएको छ ।
प्रजिअ आचार्यले भने, “होल्डिङ सेन्टर प्रयोगका लागि स्थानीय तहको वा अस्पतालकै रूपमा चलाउने विषयमा पनि छलफल भएको छ ।” विपद्का बेला बाढीपीडितलाई राख्न सकिनेलगायत विषयमा पनि छलफल भएको छ ।
“निजी क्षेत्रका लागि निश्चित समय ठेक्कामा दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको छ”, उनले भने।