काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र सहित दुई जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौँको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौँको स्वयम्भु बस्ने २७ वर्षीय भिम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलिले आज एकान्तकुनामा बा ४ ख ३८ ५१ नम्बरको बस चेक गर्ने क्रममा श्रीकृष्ण भुर्तेलको ‘बी’ र ‘जी’ सवारी चालक अनुमति पत्र फेला पारी शंका लागेर विधुतिय माध्यमबाट चेक गर्दा उनको वर्ग ‘बी’ अर्थात मोटरसाइकल र स्कुटर चलाउने मात्र रहेको खुल्न आएको थियो ।
त्यस्तै यही बैशाख १ गते जावलाखेलमा ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीको लागि लिएको तीनवटा वर्गभएको सवारी चालक अनुमति पत्र लिन आएको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै ट्राफिक प्रहरीले भिम बहादुर स्याङतानलाई नियन्त्रणमा लिएको हो ।
उनको सवारी चालक अनुमतिपत्र विधुतिय माध्यमबाट चेक गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको हो ।
बा २ क ९८ ०१ नम्बरको ट्रक चलाएको अवस्थामा स्याङतान कारबाहीमा परेका थिए ।
नियन्त्रणमा आएका दुबैजनालाई आवश्यक अनुसन्धानको लागि सवारी चालक अनुमति पत्र सहित प्रहरी वृत्त सिंहदरबार पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नक्कली सवारी चालक अनुमति पत्र लिएर सवारी साधन चलाउनु गैरकानुनी कार्य भएको र दुर्घटना समेत हुने भएकाले यस्ता कार्य रोक्न ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिएको प्रहरी बरिष्ठ उपरीक्षक भट्टले बताए ।