म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेमा सञ्चालित सडक कालोपत्र (पिच) योजना लक्ष्यभन्दा साढे तीन महिनाअघि नै सकिएको छ ।
ढिलासुस्तीले अधिकांश विकास आयोजना थला परेको अवस्थामा अर्थुङ्गेमा भने लक्ष्यअघि नै सडक निर्माण भएको हो । गण्डकी प्रदेश सरकारको बेनी-अर्थुङ्गे-घतान-तोरीपानी हुँदै पाखापानी सडक योजनाअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत् कालोपत्र भएको हो ।
अर्थुङ्गेमा दुई सय १७ मिटर सडक कालोपत्र, नाली, पर्खाल निर्माण गर्न श्रमजीवी निर्माण सेवाले विसं २०७९ मंसिर १९ गते ठेक्का सम्झौता गरेको थियो । पूर्वाधार विकास कार्यालयका अधिकृत अर्जुन शर्माका अनुसार रु ३२ लाख ६२ हजार नौ सय ५१ मा ठेक्का सम्झौता भएको आयोजनाको म्याद २०८० असार १५ गतेसम्म थियो ।
निर्माण कम्पनीले लक्ष्यभन्दा साढे तीन महिनाअघि नै सडक निर्माण गरेको अधिकृत शर्माले बताए। सरदर पाँच दशमलव पाँच मिटर चौडाइका दरले कालोपत्र गरिएको छ । यसअघि गत वर्ष पनि पूर्वाधार विकास कार्यालयमार्फत् रु २८ लाख ५२ हजारमा अर्थुङ्गे-देउराली देखि एक सय ७० मिटर सडक कालोपत्र गरिएको थियो ।
निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले समयमै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर लक्ष्यअघि नै सडक निर्माण गरेको बताए। सडक कालोपत्र भएपछि हिउँदमा धूलो र बर्खामा हिलाम्मे हुने समस्या हटेको अर्थुङ्गेका बासिन्दाले बताएका छन् ।
प्रदेश सरकारले कालोपत्र गरेको भन्दा अगाडिदेखि एक्लेपिपल, जामुनाखर्क, जम्रेनी खण्डमा बेनी नगरपालिकामार्फत् नाली निर्माण र ढलानको काम अन्तिम चरणमा पुगेको छ । यो सडक बेनी नगरपालिकाको ६, ९, १०, रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नं. वडाका बासिन्दाले सदरमुकाम बेनी आउन जान प्रयोग गर्छन् ।
बेनीबाट अर्थुङ्गेसम्मको तीन किलोमिटरमध्ये अधिकांश खण्डमा ढलान र कालोपत्र भए पनि यातायात भाडा भने कच्चीसरह तिर्नुपरेको अर्थुङ्गेका मुक्ति ढुङ्गानाले गुनासो गरे।