काठमाडौँ । विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १४ ओटा मोटरसाइकल र ७ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका ३६३ ओटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।
धनी नखुलेका ९५ वटा सवारी साधन भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।
चालु आर्थिक वर्षमै २७ वटा चोरीका २ पाङ्ग्रे सवारी साधन सहित ३१ जनालाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी पनि विशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बन्नुपर्नेमा ट्राफिक प्रहरीले जोड दिँदै आइरहेको छ ।
सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरू अवलम्बन गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।