लुम्बिनी । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।
प्रहरीले एकथान ल्यापटप र जिल्ला प्रहरी कार्यालयको सरकारी छाप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
अभियुक्त अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो व्यक्तिगत इमेल आइडीबाट विभिन्न सञ्चारमाध्यममा जिल्ला प्रहरी कार्यालयको सरकारी छापसमेत प्रयोग गरी झुटो भ्रामक विवरण प्रेषित गरेको पाइएको प्रनाउ अर्यालले जानकारी दिए ।
ठाडो उजुरी शाखाबाट निवेदन लेखे वापत रु ५ सयका दरले प्रहरीले पैसा लिने गरेको भनि नाम समेत किटान गरी समाचार प्रकाशन भएको थियो । अनुसन्धानका क्रममा निवेदकहरुले आफुले त्यसरी निवेदन लेखिदिए बापत कोही कसैलाई नगद नदिएको बताएका छन् ।
अधिकारीले केही समय पहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुसँग निवेदनहरु लेखी सो वापत शुल्क लिदै आईरहेकोमा बिगत ३ महिना देखी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नागरिकको सेवा सुविधाको लागी निशुल्क निवेदन लेख्ने व्यवस्था गरेकोमा उनले उक्त कार्यलाई रिशिवी राखी प्रहरी माथी गम्भिर आरोप लगाउदै भ्रामक झुटा समाचार बनाई विभिन्न पत्रिकामा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनलाई रुपन्देही जिल्ला अदालतबाट सरकारी छाप कीर्ते मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।