रोल्पा । रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परिवर्तन गाउँपालिका-४ र ५ का विभिन्न ठाउँमा करीब २८ रोपनीमा लगाइएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो । अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको टोली खटिएको थियो ।
सारुमगर नेतृत्वको टोलीले परिवर्तन-४ खोलागाउँ, तारल र वसुन्धरामा करीब २० रोपनीमा पाखोबारीमा लगाइएको अफिम खेती नष्ट गरेको हो । यहाँ करीब १८ हजार अफिमका बोट नष्ट गरिएका छन् । त्यसैगरी, प्रहरीको अर्को टोलीले परिवर्तन-४ जैरेनी र तातापानी तथा परिवर्तन-५ बजेनीमा करिब आठ रोपनीमा लगाइएको सात हजार पाँच सय अफिमका बोट नष्ट गरेको छ ।
उत्तरी र पूर्वी रोल्पामा गरिँदै आएको अवैध अफिम खेती हरेक वर्ष प्रहरीले नष्ट गर्ने गर्दछ ।