बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीको कोटगाउँस्थित जनआदर्श आधारभूत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ ।
सोमवार आएको हावाहुरीले विद्यालयको छानो उडाएको हो । हावाहुरीले बालकक्षा र विद्यालयको कार्यालय सञ्चालन भएको कोठा रहेको अको भवनमा समेत आंशिक क्षति पुगेको प्रधानाध्यापक फमाया पुनले जानकारी दिइन्।
विद्यालय परिसरमा रहेको ओखरको हाँगा भाँच्चिएर विद्यालयमा खसेपछि क्षति पुगेको हो । वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।
नयाँ शैक्षिकसत्र सुरु हुने समयमा विद्यालय भवनको छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रअ पुनको भनाइ छ ।
विद्यालयले आगामी वैशाख ३ गतेदेखि भर्ना अभियान र १० गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने कार्यतालिका बनाएको भए पनि भवन मर्मतर नभएसम्म पठनपाठन सञ्चालन गर्न कठिन हुने प्रअ पुनले बताइन्।