जानकी । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ ।
खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत् अञ्जनी कुम्हार बताउँछिन् । “विद्यालयमा शौच गर्न सधैं समस्या हुन्छ, पानीको व्यवस्था छैन”, उनले भनिन्। कक्षा कोठा पनि गतिलो नभएको उनको गुनासो छ । विद्यालयमा एउटा मात्र हाते पम्प रहेको छ ।
पिउनलाई शुद्ध पानीको अभाव छ । “पानी किनेर पिउनुपर्ने बाध्यता छ”, कक्षा ५ मा अध्ययनरत् कल्पना यादवले भनिन्, “विद्यार्थीले सधैं पानी किनेर पिउन सम्भव छैन । प्यास लागे प्राय: घरमै गएर पानी पिउने गरेका छौं ।”
शौचालयमा प्रयोग गर्न पनि पर्याप्त पानी नभएको उनी बताउँछिन्। शौचालय जाँदा बाहिरबाटै पानी बोकेर लैजानुपर्ने विद्यार्थी बताउँछन् । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा खानेपानीको व्यवस्थाका लागि वडा कार्यालयले आश्वासन दिएको प्रधानाध्यापक रेखा धितालले बताइन्।
उनले भनिन्, “वडाले आश्वासन त दिएको छ, तर हालसम्म केही सुरसार छैन ।” उनान्चालीस वटा विद्यालय रहेको उक्त पालिकाको सबैभन्दा धेरै विद्यार्थी भएको शिवपुरी माध्यमिक विद्यालय हो। उक्त विद्यालयमा भने भौतिक संरचना जीर्ण छ ।
दुई वर्षदेखि कक्षा कोठाको छतबाट पानी चुहिँदै आएको प्रधानाध्यापक देव रानाले बताए। “टालटुल गरेर पठनपाठन भइरहेको छ”, उनले भने । जीर्ण भएकै कारण भर्ना हुन आएका विद्यार्थीलाई फिर्ता पठाइएको रानाले बताए।
पाँच ब्लकमा १२ कक्षाकोठा रहेको उक्त विद्यालयमा छात्राका लागि शौचालयको उचित व्यवस्था नभएको रानाको भनाइ छ । यहाँ सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । उक्त पालिकामा प्राथमिक विद्यालय १६, निमावि तीन र माध्यमिक विद्यालय पाँच छन् ।
यहाँ १४ वटा मदरसा छन् । छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ । माविसम्म सीमित रहेको उक्त पालिकामा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताइन्।