देउखुरी । दाङको बङ्गलाचुली गाउँपालिकाले विपन्न नागरिकलाई राहत दिन आवास निर्माण गरिदियो । पालिकाको वडा नं. २, ५, ६ र ८ मा प्रति घर रु १० लाखको लागतमा ३० घर निर्माण भएका थिए ।
ती वडामा दुई कोठे घर निर्माण गरिए पनि अझैसम्म कोही पनि बस्न गएका छैनन् ।वडा नं. २ स्थित बढीपोखरामा छ घर र वडा नं. ८ स्थित हाँसीपुरमा रहेको जङ्गलको डाँडामा छ घर निर्माण गरिए पनि ती घर खाली छन् ।
घर निर्माणपछि वडा कार्यालयले गरीब तथा असहाय परिवार पहिचान गर्यो तर, पहिचान भएका कोही पनि ती घरमा बस्न जान इच्छुक भएनन् । पूर्ववडाध्यक्ष गिरिराज बाँठाका अनुसार सुरुमा स्थानीय दुई/तीन परिवार बस्न थालेका थिए तर, पछि उनीहरूले पनि छाडेका हुन् ।
यी घर बनाइएको ठाउँमा कुनै व्यवसाय गरेर बस्न सकिने अवस्था छैन । नजिक मानवबस्ती नभएको थलोमा गएर कोही पनि बस्न राजी नभएका हुन् ।
“गरीबका लागि भनेर बनाइएका घरका झ्यालढोका फुटेर जीर्ण छन्,” उनले भने, “कोही पनि बस्न तयार नभएकाले घरहरू बेकम्माका बनेका छन् ।” यसैगरी, वडा नं. ५ मा पनि बनाइएका १२ घरमध्ये चारवटा घरमा मात्रै मानिस बसेका छन् ।
त्यहाँका वडाध्यक्ष लिले घर्तीले भने, “ माथिल्लो भेग मानव बस्तीदेखि टाढा रहेका कारण बाँकी घरमा कोही बस्न नमानेको हुनसक्छ ।” वडा नं. ६ मा बनेका छ घरमध्ये तीनवटा प्रयोगमा आएका र बाँकी घर जीर्ण बन्दै गएका छन् ।
स्थानीयवासी भुवन केसीले भने, “पालिकाले बनाएका घर बस्नयोग्य नभएकाले कोही बस्न राजी भएनन्।” ती घरका लागि रु तीन करोड खर्च भएको थियो । ती ३० घरमध्ये प्रत्येक दुईवटा घरका लागि १५ वटा शौचालय पनि बनाइएको थियो । ती घर निर्माण गर्ने ठेक्का घोराहीस्थित माइन स्टोन कम्पनीले पाएको थियो ।
यसैबीच, अघिल्लो नेतृत्वले बनाएका घरमा बस्न अहिलेको नेतृत्वले पनि गरीब परिवारलाई आह्वान गरिरहेको छ ।
“बेसहारा तथा विपन्नलाई पालिकाले बनाएका घरमा बस्न आउनुस् भनिरहेका छौं, पालिका अध्यक्ष तुलसीराम पुनले भने, “रित्ता घरमा अहिलेसम्म कोही बस्न आएको अवस्था छैन । प्रयोगमा ल्याउन सके ठूलो रकम खर्चेर बनाइएको सार्वजनिक सम्पत्तिको उपयोग हुने थियो ।”
“घर नभएकालाई घरको व्यवस्था गरेका थियौं उहाँहरुले महत्व बुझ्न सक्नुभएन ।”, उनले भने।
आर्थिक वर्ष २०७५/७६ मा नमूना बस्ती निर्माण योजनाअनुसार गरीब तथा असहाय परिवारका लागि घर बनाउन सङ्घीय सरकारले रु दुई करोड दिएको थियो । गाउँपालिकाले एक करोड थपेर ती चारवटा वडामा दुई-दुई कोठे भूकम्प प्रतिरोधी घर बनाएको थियो ।