काठमाडौँ । विभिन्न मितिमा हराएका २२ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी १६ मोटरसाइकल र ६ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
यस आर्थिक वर्षको सुरुवात देखी हाल सम्म सवारी साधन हराएको भनी एक हजार २८९ वटा निवेदन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका छन् । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३८७ ओटा सवारी साधन माथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जस मध्ये आजको २२ वटा सहित ३६० ओटा दुई पाङ्ग्रे सवारी साधन, ट्राफिक प्रहरीले धनीको जिम्मा लगाई सकेको छ ।
यस्तै चैत महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको एउटा मोटरसाइकल सहित नियन्त्रणमा लिएका १ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाएको छ ।
यस अघि पनि चोरीको २४ ओटा मोटरसाइकल सहित चोरीमा संलग्न २६ जना मानिसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि सम्बन्धित परिसर तथा वृत्तहरूमा बुझाई सकेको एसएसपी भट्टले बताए ।
अन्य हराइ फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
लाखौँ रकम तिरेर खरिद गरेको सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गरेमा सवारी साधन चोरी हुनबाट जोगाउन सकिन्छ ।