मोरङ । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न सेमिफाइनल खेलमा एपीएफलाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफि, अर्सद र पलले गोल गरेका थिए ।
यस्तै, एपीएफको तर्फबाट दिपेश धिमाल र सविन गुरूङले गोल गरे । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित खेल खेलेपछि छिनोफानो टाइब्रेकरबाट भएको हो ।
खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर महमद सरफिर घोषित भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । यही चैत १६ गते हुने फाइनलमा लुका सकरले विराटनगर सिटीसँग खेल्नेछ ।