सुदूरपश्चिम । धनगढी रङ्गशालामा जारी ‘छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप- २०७९ फूटबल प्रतियोगिता’को आजको खेलमा सुदूरपश्चिम-११ स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोलले पराजित गरेको छ ।
जीतसँगै आयोजक सुदूरपश्चिम-११ स्पोर्टस् क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम-११ स्पोर्टस् क्लबलाई जीत दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गरे । खेल सुरु भएको पाँच मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए ।
तीस औँ मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टीमका लागि दोस्रो गोल गरे । दोस्रो हाफको ५१औँ र ६३ औँ मिनेटमा गोल गर्दै आयुषले ह्याट्रिक गर्न सफलता पाएका हुन् । आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित आयुष रु दश हजारबाट पुरस्कृत भए ।
नेपाल पुलिस क्लबले आजको प्रतिस्पर्धामा गोल गर्न पाएको अवसरलाई सदुपयोग गर्न सकेन । अब सुदूरपश्चिमले थ्री स्टारसँग सेमिफाइनलको प्रतिस्पर्धा गर्नेछ । बुधवार मानाङ मर्स्याङ्दी र क्यामरुनको एभिनर फूटबल टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ ।
धनगढी रङ्गशालामा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।