काठमाडौं । कोशी प्रदेशको निमित्त प्रहरी प्रमुखको जिम्मेबारी प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलालाई दिइएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र १३ गतेको पत्रअनुसार उनलाई प्रहरी तालिम केन्द्र रानी बिराटनगरबाट निमित्त प्रदेश प्रहरी प्रमुखको रुपमा काजमा खटाइएको हो ।
बाँस्तोला आज प्रदेश प्रहरी कार्यालयमा हाजिर भएर निमित्त कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यालयको पदभार ग्रहण गरेको प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कंडेलले केटिएम दैनिकलाई बताए ।
यसअगाडि प्रदेश प्रहरी प्रमुख रहेका डिआईजी श्यामलाल ज्ञवाली एआइजीमा बढुवा भएपछि रिक्त भएको पदमा बाँस्तोलालाई निमित्त तोकेको हो । प्रदेश प्रहरी प्रमुखमा डिआइजीलाई नियुक्त गर्ने गरिन्छ ।
कार्यभार सम्हाल्दै निमित्त कोशी प्रदेश प्रहरी प्रमुख एसएसपी बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिएका छन् । आजै उनले कार्यभार सम्हाले पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिएका हुन्।
निर्देशनको क्रममा उनले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।