मोरङ । सातौं संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रङ्गशालामा सोमवार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २-१ गोलले पराजित गरेको हो । खेलमा म्यान अफ द म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भई नगद रु ११ हजार प्रदान गरिएको छ ।
विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीको मेहनतका कारण विजयी हासिल गर्न सफल भएको विचार राखे । जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार व्यहोर्नुपरेको बताए।
गोल्डकपको आज हुने अन्तिम सेमिफाइनल खेलमा भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टीम एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।