धनकुटा । धनकुटामा आजदेखि कोशी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन प्रतियोगता शुरु भएको छ ।
ब्याडमिन्टन सङ्घ धनकुटाले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान सहकारी तथा गरीबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरे। धनकुटा नगरपालिका-६ स्थित सल्लेरीको कबडहलमा शुरु उक्त खेलको छ विधामा एक सय १२ खेलाडीले सहभागिता जनाएका सङ्घका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिए।
पुरुष सिङ्गलतर्फ १८, महिला सिङ्गलमा आठ, पुरुष डबलमा १७, मिक्स डबलमा १३, ४५ वर्ष माथि पुरुष डबलमा १८ र ५५ वर्ष माथि मिक्स डबलमा १४ टीमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । धनकुटा नगरपालिकाको मुख्य प्रयोजनमा चार दिनसम्म सञ्चालन हुने उक्त खेल अन्तर्राष्ट्रिय रेफ्री अनुपरत्न शाक्यले खेलाउनेछन् ।
प्रतियोगितामा खुला पुरुष र महिला सिङ्गल्समा प्रथम हुनेले रु २० हजार, दोस्रोले रु १२ हजार र तेस्रोले रु चार/चार हजार नगद पुरस्कार मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, पुरुष डबल र मिक्स डबलमा प्रथम हुनेले रु ३० हजार, दोस्रोले रु २० हजार र तेस्रोले रु पाँच/पाँच हजार पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
पैँतालिस वर्ष माथि र ५५ वर्ष माथि मिक्स डबलमा प्रथम हुनेले रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु पाँच/पाँच हजार नगद पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ ।