काठमाडौँ । साफ यू-१७ महिला च्याम्पियनशिप फूटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले नेपाललाई ४-१ गोलअन्तर पराजित गरेको हो । भारतको जीतमा शिल्जी शाजीले ह्याट्रिक पूरा गरिन् भने पूजाले एक गोल गरिन् ।
नेपालका लागि वर्षा ओलीले एक गोल फर्काइन् । खेलको दशौं मिनेटमा भारतकी शिल्जी शाजीले गोल गर्दै सुरुआती अग्रता दिलाइन् । त्यस्तै, खेलको ४०औँ मिनेटमा शाजीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २-० को अग्रता दिलाइन् ।
खेलको पहिलो हाफको ४१औँ मिनेटमा पूजाले एक गोल थपिन् । त्यसपछि खेलको ५४औँ मिनेटमा नेपालकी खेलाडी वर्षा ओलीले गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याइन् । त्यस्तै, खेलको ८० औँ मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४-१ को जीत दिलाइन् ।
जीतसँगै भारतले पहिलो खेलमा ३ अङ्क जोडेको छ । प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बुधवार भूटानसँग खेल्नेछ ।