मुस्ताङ । नेपाल शिक्षक सङ्घ मुस्ताङको नवौँ जिल्ला अधिवेशनले गोविन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली, सचिव (अर्थ)मा रामचन्द्र पराजुली, सहसचिवमा मनदेवी गौचन, देवराज पाण्डे, तुलप्रसाद गौचन, निरज गौचन रहेका छन् । समितिको सदस्यहरूमा नवराज पौडेल, दीपक तुलाचन, भुविन्द्र गौचन, मानबहादुर चौधरी र रामचन्द्र उपाध्याय रहेका छन्।
त्यस्तै, प्रदेश प्रतिनिधिमा प्रमिश गौचन, महेश दबाडी, लक्ष्मी शर्मा र राम परियार रहेका छन् भने सङ्घ प्रतिनिधिमा राजु श्रेष्ठ, अनन्तराज आचार्य, शारदा शेरचन र रामचन्द्र अधिकारी रहेका छन् । यसअघि अधिवेशनको उद्घाटन सत्रमा तत्कालीन संविधानसभा सदस्य एवं पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीले मुस्ताङ जिल्लाको विकासको मुख्य आधार मुस्ताङी जनताको अथक मेहनत र लगनशीलता रहेको बताए ।
जिल्लाको विकास र समृद्धिको मुख्य संवाहक नै मुस्ताङी जनता भएको जनाउँदै नेपाली कांग्रेस मुस्ताङका सभापतिसमेत रहेका गौचनले यहाँको समृद्धि र विकासमा कांग्रेस सधैं साथमा रहने बताए । “विगत जे-जस्तो भए पनि अबको बाटो सकारात्मक छ, त्यही बाटोलाई पछ्याउँदै अघि बढ्नुपर्छ”, उनले भने ।
नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशका उपमहासचिव राजु श्रेष्ठले विगत लामो समयदेखि शिक्षकको पेशागत समस्या समाधान र शिक्षाको विकास गर्न सङ्घ निरन्तर लागिपरेको बताए । नेपाल शिक्षक सङ्घ मुस्ताङका निवर्तमान अध्यक्ष अनन्तराज आचार्यले विसं २०४७ वैशाख ३० गते जिल्लामा थोरै शिक्षकहरूको पहलमा सङ्घको स्थापना भएको बताए।
उनका अनुसार श्री जनावाल मावि मार्फाका तत्कालीन प्रधानाध्यापक टेकबहादुर राणाको पहलमा सङ्घको स्थापना भएको थियो । कार्यक्रममा मुस्ताङको थासाङ गाउँपालिकाका उपप्रमुख सोमल हिराचन, सङ्घका वरिष्ठ सदस्य उदय नेपाली, शिक्षक माधवजी भण्डारीलगायतले बोलेका थिए ।