दमक । झापाको कमल गाउँपालिका-७ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । अस्पतालका चिकित्सक डा. धर्मेन्दकुमार पण्डितका अनुसार आयुर्वेदसम्बन्धी विशेषज्ञ सेवा पुर्याउने उद्देश्यले प्रादेशिकस्तरमा स्थापना भएको अस्पतालमा अहिले दैनिक ८० देखि एक सय बिरामीले सेवा लिँदै आएका छन् ।
उपचारका लागि आउनेमा अधिकांश हाडजोर्नी तथा नसाका बिरामी छन् । अस्पतालमा हाल चार आयुर्वेद चिकित्सक, एक स्टाफ नर्स र दुई कार्यालय सहायक कार्यरत् छन् । सङ्घीय सरकारको सहयोगमा प्रदेशस्तरमा रू २० करोड ६३ लाखको लागतमा आयुर्वेद अस्पताल निर्माण गरिएको हो ।
पचास श्ययाको उक्त अस्पतालमा दैनिक आकस्मिक सेवासहित बहिरङ्ग, शल्यक्रिया, प्रयोगशालालगायत सेवा उपलब्ध छन् । “पूर्वाधार पर्याप्त छ, अस्पतालमा सेवा विस्तारको आवश्यकता छ, हाल यो नहुँदा सेवाग्राही मारमा परेका छन्”, डा. पण्डितले भने, “सेवा विस्तार गर्नसके उपचार गर्न आउनेको सङ्ख्या बढ्नेछ ।”
दमक नगरपालिका-५ बाट उपचारका लागि आएकी ६४ वर्षीया सरिता पोख्रेलले अस्पतालबाट पर्याप्तमात्रामा सेवा पाउन नसकेको गुनासो गरिन् । विसं २०७८ असारमा अस्पताल निर्माण भएको हो । अस्पताल निर्माण गर्न स्थानीयले दुई बिघा एक धुर जग्गा उपलब्ध गराएका थिए ।