काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थलमा सडकमा अनावश्यक रोकेर बस्ने चार हजार भन्दा बढी राइड शेयरिङ गर्ने दुईपाङ्ग्रे (मोटरसाइकल र स्कुटर) चालकलाई कारबाही गरेको छ ।
गत मंसिर २७ गतेदेखी सुरु भएको कारबाहीमा आजसम्म चार हजार १ ९० जना चालकहरू कारबाहीमा परेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टले केटिएम दैनिकलाई बताए ।
राइड सेयरिङ गर्ने मोटरसाइकल तथा स्कुटर सडकमा अनावश्यक रोकेर राख्नाले ट्राफिक व्यवस्थापनका साथै सवारी अवागमनमा बाधा पुग्ने भएकाले राइड सेयर कारबाही अभियानलाई तिब्रता दिइएको समेत एसएसपी भट्टले जानकारी दिए ।
पुषको तेस्रो सातातिर प्रहरीले एक अपरेसन नै चलाएर एक सय बढी अफलाइन राइडरहरूलाई काउन्सिलिङ गरेको थियो ।
साथै आज यात्रुबाट बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट मंगलबार ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानमा अनुगमन गर्दा तोकीएको भन्दा बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो ।
ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न सकिन्छ ।