काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २० वटा दुई पाङग्रे सवारी साधनलाई फेला पारी बुधवार ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर गरी जम्मा २० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
गत साउन देखी आजसम्म दुई पाङ्ग्रे सवारी साधन हराएको भनेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ९ सय ९७ वटा निवेदन प्राप्त भएका थिए ।
प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्ने क्रममा ३१४ वटा सवारी साधन अनुसन्धानका लागि ल्याइएको थियो । जसमध्ये साउन महिनामा ७३ वटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कार्तिकमा १४ वटा, मङ्सिरमा ३७ वटा र पुसमा ५१ वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको छ ।
यस्तै आज सहित यही माघ महिनामा मात्र ४३ वटा सवारी साधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ । यसै गरी यस आर्थिक वर्षमा २४ वटा चोरीका मोटरसाइकल सहित पक्राउ परेका २६ जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाइएको छ ।
सवारी साधन चोरीको घटनालाई न्यूनीकरण तथा नियन्त्रण गर्न यस कार्यालयमा रहेको पीडित सहायता इकाई बाट सादा पोसाकमा ट्राफिक प्रहरी खटिँदै आएका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बन्दै सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरी जानकारी गराउन र खोजतलासका लागि आवश्यक जानकारी सहित निवेदन दिन सकिनेछ ।