
सरकार गठन भएको दुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा ५ मन्त्रालय रिक्त हुन पुगेको छ ।
सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्न नसकीरहेको बेला रबि लामिछाने नेतृत्वको. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारबाट बाहिरिने निर्णय लिएसँगै ५ वटा मन्त्रालय रिक्त हुन पुगेका हुन् ।
जसअनुसार हालसम्म बिस्तार गर्न नै नसकेका वन तथा वातावरण तथा युवा तथा खेलकुदसहित गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन् । सत्तारुढ गठबन्धन दलहरूको बिचमा सहमति हुन नसक्दा सरकार गठन गरेको ४३ दिनसम्म पनि वन र खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन ।
यसै वेला, प्रधानमन्त्री प्रचण्ड र रास्वपा बिचमा गृह मन्त्रालयमा कुरा नमिले पछि सो पार्टी प्रचण्ड सरकारबाट गत आइतबार बाहिरिएको थियो । सर्वोच्च अदालतले सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा लामिछानेले नेपालको नयाँ नागरिकता नलिई उपप्रधान तथा गृह मन्त्री र सांसद पदको जिम्मेवारीमा बसेको र सो कारण नेपालका कानुन अनुसार बस्न अयोग्य भन्दै फैसला गरिदिए पछि लामिछाने जिम्मेवारीबाट मुक्त हुनु परेको थियो ।
लामिछानेले आफूले सम्हाल्दै आएको मन्त्रालय आफूले पाउनु पर्ने र नपाए पूर्व सहमति अनुसार पार्टीलाई दिनु पर्ने लामिछानेको मागलाई अस्वीकार गरे पछि आइतबार सो पार्टीले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय लिएको थियो ।
सो पार्टी सरकारबाट बाहिरिने निर्णय सँगै प्रधानमन्त्री प्रचण्डले यसअघि सम्हाल्दै आएको बन र खेलकुदसँगै तीन मन्त्रालयको थप जिम्मेवारी लिनु परेको हो । जस कारण २५ सदस्सीय मन्त्रीमण्डलमा हाल २ जना राज्य मन्त्रीसहित १९ जनाले मात्रै प्रतिनिधित्व गर्दै आएका छन् भने पाँच मन्त्रालय नेतृत्व बिहिन अवस्थामा छन् ।