पुषको तेस्रो साता गौशाला नजिकैबाट आफ्नो ड्युटी सकेर एक महिला घर जाने तयारीमा थिइन् । बेलुका ढिलो भइसकेकाले सार्वजनिक यातायात पाइएन । ट्याक्सीमा जानको लागि उनीसँग पैसा थिएन । केही अगाडि हिँड्दै गर्दा एक जना बाइक चालकले बाइक रोके । र महिलालाई राइडको अफर गरे ।
चालकले आफू राइड शेयरिङमा आबद्ध भएको बताएपछि ती महिला निर्धक्क बाइकमा बसिन । केही अगाडि भिनसेनगोला नजिकै पुगेपछि राइडरले पानी खाने भनेर पसल बाट बोतल लिएर आए र महिलालाई पनि खानुहुन्छ भनेर दिए ।
पानी पिएको केही बेरमा महिला बेहोस जस्तो हुन थालिन् र राइडरले सुनसान ठाउँमा लगेर अझै मान्छे बोलाएर लुटपाट सँगै कुटपिट पनि गरेर छोडिदिए ।
यो केही दिन अगाडिको घटना हो । प्रहरी वृत्त नयाँबानेश्वरका एक अधिकृतले केटिएम दैनिकलाई बताएअनुसार ती महिलाले प्रहरीमा उजुरी गरेकी छन् । प्रहरीले उक्त घटनाको छानबिन गरिरहेको छ । यो समाचार तयार पार्दासम्म सो घटनामा संलग्न चालक वा अन्य व्यक्तिहरू पक्राउ परेका छैनन् ।
माथि उल्लेखित घटना एक प्रतिनिधिमूलक मात्रै हो । पछिल्ला दिनहरूमा नेपालमा अफलाइन राइड बढिरहेको छ । कम्पनीलाई कमिसन नतिर्नुपर्ने भएपछि पठाओ चालकहरू अनलाइन भन्दा अफलाइन राइड गर्न रुचाउँछन् । अफलाइन राइड गर्दा चालक मात्र हैन यात्रुहरू नै असुरक्षित बन्दै आइरहेका छन् ।
गत साउनको १० गते ललितपुरको कुसुन्तीमा यात्रु लिएर गन्तव्यतर्फ गइरहेका पठाओ चालक तगेन्द्र राईले चलाएको बागमती प्रदेश ०२०–३७ प ६३३६ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्यो ।
उक्त दुर्घटनामा परेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम रातामाटे घर भएका २३ वर्षीय तगेन्द्र राईको निधन भयो । राइले सुरज अधिकारी नाम गरेका यात्रुलाई बल्खुबाट सातदोबाटो लिएर जाँदै थिए ।
उक्त राइड अनलाइन नभएर अफलाइन राइड थियो । पठाओ दुर्घटनामा निधन भएका राईको परिवारले बीमाबापत पाउने १० लाख रुपैयाँ गुमाउनु पर्यो । पठाओले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग चालक र यात्रुको बिमा गरेको छ ।
पठाओ नेपालले दिएको जानकारी अनुसार रु एक लाखसम्म दुर्घटना बीमा छ भने दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएमा रु १० लाखको बीमा गरिएको छ ।
कम्पनीका अनुसार बीमा सुरु भएपछिको हालसम्म दुई सयभन्दा बढीले दुर्घटनामा परी बीमाको सुविधा लिइसकेका छन् । पठाओ नेपालबाट हालसम्म दुर्घटनामा परी मृत्यु भएका तीन जनाले त्यसबापतको बीमा सुविधा पनि प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ ।
नेपालमा मात्र हैन अहिले विश्वभर नै अफलाइन राइडले समस्या सिर्जना गरिरहेको बताउँछन् पठाओ का प्रवक्ता शशाकं शमशेर थापा । पठाओ मा अफलाइन राइड लाई निरुत्साहित पार्नको लागि तपाईँहरूले के के कदम चाल्नुभएको छ भन्ने केटिएम दैनिकको प्रश्नमा थापा भन्छन्, ‘हाम्रो प्लेटफर्ममा आबद्ध चालकहरूले अफलाइन राइड गरेको खण्डमा हामीले विभिन्न कारबाही गर्ने गरेका छौँ । उनीहरूलाई केही समयको लागि सस्पेन्ड गर्नेदेखि लिएर लाइफ टाइम ब्यान गर्नेसम्मका कारबाही गर्ने गरेका छौँ ।”
साथै उनले अनलाइन राइड गर्दाका फाइदाहरूको जानकारी दिन विभिन्न सचेतनामुलक कार्यक्रमहरू चलाइरहेको बताए । अफलाइन यात्रा सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील हुने, राइडर वा यात्रुको विवरण कसैसँग पनि नहुने भएकाले पठाओ लगायत नेपालमा सञ्चालनमा आएका राइड शेयरिङ प्लेटफर्महरूले यात्रुहरूलाई अनलाइन राइड नै गर्न सुझाव दिँदै आइरहेका छन् ।
अफलाइन राइडरलाई सम्झाउँदै प्रहरी
केही दिन अगाडि प्रहरीले एक अपरेसन नै चलाएर एक सय बढी अफलाइन राइडरहरूलाई काउन्सिलिङ गरेको थियो । प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनाली भन्छन्, “अफलाइन राइड गर्ने एक सय देखि सवा सय चालकहरूलाई हामीले सम्झाई बुझाइ गरेर पठाएका हौँ । पहिलो चरणमा सम्झाउने काम भएको छ त्यसपछि कुन कुन कानुन आकर्षित हुन्छन् सोही अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।”
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्ट राइड शेयरिङबाट यात्रा गर्दा कुनै हिंसा वा अप्ठ्यारोमा परेमा यात्रुहरूलाई उजुरी गर्न सुझाव दिएका छन् । केटिएम दैनिकसँग कुरा गर्दै एसएसपी भट्ट भन्छन्, “यात्राको क्रममा तपाईँहरूले असहज महसुस गर्नुभयो, यौन हिंसामा पर्नुभयो वा तपाईँको मोबाइलमा राइडरले फोन गरेर अनावश्यक कुराकानी गर्न थाले भने तत्काल उजुरी गर्नुहोस् । हामी तुरुन्त कारबाही गर्छौँ ।”
अफलाइन राइड सुरक्षित र सुनिश्चित नहुने भएकोले यसको नियन्त्रणमा नेपाल प्रहरीको कदम स्वागतयोग्य रहेको बताइएको छ ।
कानुनमा के छ ?
निजी नम्बर प्लेट अर्थात् रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न पाउने वा नपाउने भन्ने बहस चलेको केही वर्ष भइसक्यो यो बीचमा २०७५ साल माघ १८ गते बागमती प्रदेश सरकारले प्रदेश राजपत्रमा निजी सवारी साधनहरूले पनि यात्रु बोक्न पाउने व्यवस्था गर्यो ।
उक्त राजपत्रको दफा १३ को उपदफा (४) मा निजी प्रयोजनको लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्रा बीमा गरी यात्री ओसार पसार गर्न सक्नेछ । भन्दै रातो नम्बर प्लेटका सवारी साधनहरूले पनि यात्रु बोक्न पाउने नीतिगत व्यवस्था गर्यो ।
त्यस्तै बागमती प्रदेश सरकारले बनाएको २०७९/८० को आर्थिक विधेयकमा राइड शेयरिङ एपमा आधारित कम्पनीहरूलाई दर्ता हुन आह्वान गरेको छ । उक्त विधेयकको दफा १८ को उपदफा (४) मा बागमती प्रदेश भित्र विद्युतीय सूचना प्रणालीबाट सञ्चालन गरिएको राईड सेयरिङ एपमा निजी नम्बरका सवारी साधन भाडा लिने प्रयोजनमा प्रयोग गरी सेवा दिने संस्थाले तोकिएको दस्तुर सम्बन्धित यातायात व्यवस्था कार्यालयमा बुझाइ अनुमति लिई सञ्चालन गर्नु पर्ने उल्लेख छ ।
साथै उक्त ऐन प्रारम्भ हुनु अघि राईड सेयरिङ एप प्रयोग गरी विद्युतीय सूचना प्रणालीबाट सञ्चालनमा रहेका संस्थाले संवत् २०७९ साल चैत्र मसान्त भित्र अनुमति लिनु पर्नेछ ।
दर्ता अनुमतिको लागि दुई पाङ्ग्रे मात्रको लागि २५ हजार, चार पाङ्ग्रेको लागि ५० हजार र दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवैको लागि ७० हजार रुपैयाँ तोकिएको छ । यस संस्था प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने र नवीकरण गर्दा दर्ताको ५० प्रतिशत रकम तिर्नुपर्ने पनि सोही ऐन मा उल्लेख छ ।