एक नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछानेलाई थुनामै राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत पाटनमा सुनुवाइ भइसकेको छ ।
उच्च अदालत पाटनका सूचना अधिकारी दिनेश पौडेलले केटिएम दैनिकलाई दिएको जानकारी अनुसार उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले निवेदनमाथि सुनुवाई सकेको छ ।
अहिले उक्त आदेश टाइप भइरहेको पौडेलले बताए । आदेशमा हस्ताक्षर गर्नुअगाडि दुईजना न्यायाधीश बाहेक अन्य व्यक्तिलाई यसबारे केही जानकारी नहुने पनि उनले जानकारी दिए । अबको एक घण्टाभित्र आदेश आउने बताइएको छ ।
सन्दीपलाई उच्चले साधारण तारेख वा धरौटीमा छाड्ने वा जिल्लाकै आदेश सदर गर्ने तीनवटा विकल्प छन् । उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको खण्डमा उनको कारागार बसाई फैसला नहुन्जेलसम्म कायमै रहनेछ।
सन्दीपले भदौ ६ गते जबरजस्ती करणी गरेको भन्दै किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। जाहेरी परेको एक महिनापछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका थिए।