काठमाडौँको कलंकीमा आज (मंगलबार) गरिएको विशेष चेकिङका क्रममा अत्याधिक धुँवा फालेर वायुप्रदुषण गर्ने १४ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ ।
मंगलबार दिउँसो १ बजेदेखि २ बजेसम्म गरिएको चेकिङका क्रममा अत्याधिक धुँवा फाल्ने १४ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो ।
बबरमहल स्थित वातावरण विभाग तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको तालिम प्राप्त दक्ष प्राविधिक सहितको टोलिद्धारा कलंकीमा ४३ वटा सवारी साधनलाई चेक गरिएकोमा १४ वटा अत्याधिक कालो धुँवा फाल्ने सवारी साधन भेटिएका थिए ।
सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
अत्याधिक धुँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण हुनुका साथै अवस्था ठीक नभएका सवारी साधन चलाउदा दुर्घटनाको जोखिम समेत हुने भएकोले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउनु हुन सम्पुर्ण चालकहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम एसएसपी राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।
कसरी हुन्छ प्रदूषण मापन ?
विभागले सडकमा सवारी चेकजाँचका लागि रोकेपछि सवारी साधनको साइलेन्सरमा विशेष मेसिन जडान गरेर प्रदूषण मापन गर्ने गरेको छ। प्रदूषण मापनका लागि वातावरण विभागका कर्मचारीलाई ट्राफिक प्रहरीले साथ दिँदै आएको छ। बढी धुवाँ फाल्ने सवारी साधनको साइलेन्सरमा मेसिन जडान गरेपछि स्टार्ट गर्न लगाइन्छ। यसरी स्टाट भएको सवारीको एक्सिलेटर दबाउँदा निस्किएको धुवाँमा प्रदूषणको मात्रा चेकजाँच हुन्छ।
छोटो समयमा मेसिनको सहयोगले धेरै सवारीको प्रदूषण मापन गर्न सकिने अधिकारीको भनाइ छ। यसरी चेकजाँच गर्दा मेसिनमा प्रदूषणको मात्रा ६५ अङ्कसम्म पुगे यसलाई सामान्य मानिन्छ। प्रदूषणको मात्रा त्योभन्दा माथि पुगेमा पहिलो चरणमा यस्ता सवारी साधन चेकजाँचका लागि पठाइन्छ। मर्मतपछि पनि प्रदूषणको मात्रा बढी देखिए कारबाही हुन्छ।