
राष्ट्रिय परिचयपत्र भनेको के हो ?
प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी विद्युतीय प्रणालीमा वैयक्तिक र जैविक विवरणको अभिलेख राखी प्रदान गरिने राष्ट्रिय परिचय नम्बर सहितको बहु उपयोगी स्मार्ट कार्ड नै राष्ट्रिय परिचयपत्र हो ।
राष्ट्रिय परिचय नम्बर ( National Identity Number जसको छोटकरीमा NIN) भनिन्छ के हो ?
नागरिकको पहिचानका निम्ति एक अर्कामा नदोहोरिने गरी प्रदान गरिने दश अङ्कको पृथक् नम्बर नै राष्ट्रिय परिचय नम्बर अर्थात् NIN हो ।
यस विभागको ध्येय, लक्ष्य र उद्देश्य के के हुन् त ?
यसको ध्येय विद्युतीय प्रणालीमार्फत नागरिकको सही पहिचान निर्धारण गरी डिजिटल नेपाल निर्माणको आधार स्तम्भ तयार पार्दै सुशासन प्रवर्द्धनमा सघाउ पुर्याउने । यसको लक्ष्य सबै नेपाली नागरिकलाई नदोहोरिने पृथक् नम्बर सहितको राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, सबै नेपाली नागरिकका जन्म तथा मृत्यु लगायतका व्यक्तिगत घटना दर्ता एवं अभिलेखीकरण गर्ने, सबै लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता वैंकिङ प्रणालीमार्फत वितरण गर्ने रहेको छ ।

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (National Identity Management Information System जसको छोटकरी रूपमा NIDMIS) को विकास, स्थापना र सञ्चालन गर्नु, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीको विकास, स्थापना र सञ्चालन गर्नु नै यस विभागको उद्देश्य हो ।
राष्ट्रिय परिचय प्रणालीको विशेषता के-के हुन् ?
– आधारभूत पहिचान (Digital Foundational ID)
– डिजिटल पहिचान
– व्यक्तिको वैयक्तिक (Demographic) तथा जैविक (Biometric) विवरणहरूलाई एकीकृत गरी प्रदान गरिने
– सबै व्यक्तिको वैयक्तिक तथा जैविक विवरणहरू भिडान गरी प्रत्येक नेपाली नागरिकलाई नदोहरिने (Unique) १० अङ्कको – राष्ट्रिय परिचयपत्र नम्बर (National Identity Number- NIN) प्रदान गरिने
– सबै प्रकारका सेवा प्राप्त गर्न व्यक्तिको साझा तथा आधारभूत पहिचानको रूपमा प्रयोग हुने
– अन्य निकायले नेपाली नागरिकको विवरण राख्दा National ID सँग आबद्ध राख्नु पर्ने
– सेवा प्राप्तिका निम्ति Physical तथा Online दुवै माध्यममा प्रयोग गर्न मिल्ने
– कार्डबाट र कार्ड बाहेक पनि प्रयोग गर्न मिल्ने
राष्ट्रिय परिचयपत्र फाराम भर्दा व्यक्तिगत विवरणमा के के आवश्यक पर्दछ ?
सम्बन्धित व्यक्तिको नाम/थर, जन्म मिति, लिङ्ग, राष्ट्रियता, ठेगाना (स्थायी, अस्थायी), नागरिकताको किसिम, नागरिकता नम्बर ( नागरिकता प्रमाणपत्र पाएको व्यक्तिको हकमा ), बाबु, आमा, बाजे, बज्यैको नाम, विवाहितको हकमा श्रीमती वा श्रीमानको नाम ।

नागरिकता प्रमाणपत्र, भोटर कार्ड, राहदानी यी र यावत् कागजपत्र हुँदाहुँदै पनि किन परिचयपत्रको झन्झट र जनतालाई फोकटको सास्ती ?
नागरिकता प्रमाणपत्र प्रायः १६ वर्ष उमेर कटिसकेका धेरै मानिसको हुन्छ । पहिले हातले नागरिकता लेख्ने बेलमा धेरैले नागरिकता दोहोरो लिएको देखिएको छ । अहिले सबै जिल्ला र इलाका प्रशासन कार्यालयले नागरिकता प्रिन्टेड रूपमा दिने व्यवस्था छ र त्यो रेकर्ड CMIS मा गएर बस्छ । त्यति हुँदा हुँदै पनि नेपालीहरू केही न केही बहानामा जस्तै नाम नै परिवर्तन गरेर, वडाबाट जन्म मिति नै परिवर्तन गरेर दोहोरो नागरिकता लिइरहेको फेला परेको छ । र भोलि राज्यले दिने सुविधामा दोहोरो भोग गर्न नपाओस् भनेर नागरिकतालाई आधार मान्न सकिएको छैन । भोटर कार्डमा पनि उस्तै त्रुटिहरू रहेका छन् । अस्थायी वासस्थान भएका ठाउँबाट पनि भोटर कार्ड बनाउने, स्थायीबाट पनि बनाउने गरेको पाइन्छ । दोहोरो नागरिकता भएकालाई त झनै फाइदा भएको छ ।
गत मङ्सिर १ गते विद्युतीय पासपोर्ट नेपालमा सुरु भएसँगै राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानीलाई एकीकृत प्रणालीमा ल्याइयो जसले गर्दा अहिले दोहोरो नागरिकता लिएकाहरूलाई टाउको दुखाइको विषय बनेको छ । राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक दिँदा १० वटै औँलाको छाप दिनुपर्छ र विद्युतीय राहदानीमा पनि औँठाको छाप दिनुपर्छ जसले गर्दा सम्बन्धित व्यक्तिको पहिचान र सम्पूर्ण विवरण मिल्नु पर्दछ नत्र विद्युतीय राहदानी रिजेक्ट हुन्छ । यो सुरुवाती चरणका लागि चुनौतीपूर्ण भएता पनि अहिले राष्ट्रिय परिचयपत्रको सम्पूर्ण जिल्लाका स्थानीय तहबाट नै विवरण सङ्कलन कार्यक्रम अभियान सकिएपछि केही हदसम्म जनताले सास्ती पाउनु पर्ने छैन ।
प्रायः धेरै जिल्लामा अभियान सकिए पनि जिल्ला प्रशासन कार्यालयमा मानिसहरूको घुइँचो किन त ?
नेपालीहरू प्राय केही कुरामा ध्यान दिन्नौँ, दुःख भोग्न नै नेपालीको भाग्यमा लेखेको हुन्छ । नेपाल सरकारले २०७५ असोज २८ गते देखि नै राष्ट्रिय परिचयपत्र बनाउनु भनेर सूचना दिएको हो । त्यति बेला जनताले त्यो कुरालाई नजरअन्दाज गरेको भने पक्कै देखिन्छ । जब पाँचथरमा सुरुवाती अभियान सफल भयो त्यसपश्चात् नै जिल्ला प्रशासन कार्यालयमा स्टेसनहरू राख्न सुरु गरियो । त्यो बेलामा जिल्ला प्रशासन कार्यालयमा केही कामका लागि जिल्ला प्रशासन कार्यालय आउँदा, राष्ट्रिय परिचयपत्र बनाएर जान आग्रह गर्दा बेवास्ता गरेको देखिएको थियो । केहीले भने बनाएर जानु भएको थियो । त्यो बेलामा भर्पाई स्वरूप Confirmation Page प्रदान गरिन्थ्यो । त्यो पेज कतिले हराउनु भएको छ, कतिपयले के हो के हो भनेर फ्याँकिदिनुभएको छ, कतिलाई के बनाएको भन्ने पत्तो नै छैन । कतिपयले अभियानमा पनि बनाउनु भएको छ तर अभियानमा बनाएको परिचयपत्रलाई जनताहरू भोटर कार्ड भनेर झुक्किइरहेको पनि पाइएको छ । अहिले बिहान भरी लाइनमा बस्नु हुन्छ, अनि जिल्लामा अनलाईन मार्फत बायोमेट्रिक दिन जाँदा “This person is already exist in the system” भनेर देखाउँछ । अपवादबाहेक सबैले पहिले नै बनाई सक्नुभएको देखिन्छ ।

अपवाद भन्नाले के बुझ्ने ?
अपवाद भन्नाले यदि कुनै एक फरक व्यक्तिको व्यक्तिगत विवरण जस्तै नाम, जन्म मिति, जन्म स्थान र नागरिकता नम्बर अर्को व्यक्तिसँग मिल्दोजुल्दो भएमा पनि “This person is already exist in the system” भनेर देखाउँछ । यस्तो हुँदा जिल्लामा भएका अपरेटरहरू या सुपरभाइजरले विभागमा सो व्यक्ति एउटै हो कि फरक हो भनेर पहिचान पुष्टि भएपश्चात् अर्को व्यक्तिको विवरण भरेर विभागमा पठाइन्छ र चुस्त दुरूस्तमा परिचय नम्बर प्रदान गरिन्छ ।
सेवा प्राप्तिका निम्ति Physical तथा Online दुवै माध्यममा प्रयोग गर्न मिल्ने भन्नुको अर्थ के हो ?
राष्ट्रिय परिचयपत्रको अभियानको सुरुवाती चरणमा Physical अर्थात् हातले फाराम भरिन्थ्यो । जिल्ला प्रशासन कार्यालयदेखि वडा स्तरमा खटिने टोलीसम्म पनि हातले नै फाराम भर्ने गरिन्थ्यो र अहिले पनि गाउँ गाउँमा अभियान चलिरहेको स्थानहरूमा हातले नै फाराम भरिन्छ । तर पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानी एकीकृत भएसँगै आम मानिसहरूको घुइँचो जिल्ला प्रशासन कार्यालयमा धेरै लाग्ने गरेको र सेवाग्राहीहरूले हातले फाराम भरेर जाँदा समय पनि लाग्ने भएका कारण फाराम भर्ने अनलाईन सुविधा दिन थालिएको हो ।
यसको अनलाईन फाराम भर्न किन गार्हो भन्छन् ?
खास परिचयपत्रको अनलाईन फाराम भर्न गार्हो छैन । यसको किबोर्डको ले आउट नेपाली युनिकोड रोमनाइज्ड हो त्यसैले पनि धेरै सेवाग्राहीहरू झुक्किनुभएको छ । किबोर्डको ले आउट गुगलमा खोजेर टाइप गर्नु भएमा साइबर धाएर बस्नु पर्दैन ।
अन्तिममा, परिचयपत्र नम्बर नभएको र हराएको परिचयपत्रको भर्पाईका लागि के गर्ने ?
यदि सेवाग्राहीहरूले जिल्लामा वडा स्तरीय अभियान मार्फत परिचयपत्रको विवरण भर्नुभएको छ भने मोबाइल नम्बर अनिवार्य रूपमा हाल्नु होला । त्यही मोबाइल नम्बरमा DONIDCR_ALT भनेर मेसेज जान्छ । यदि पहिले बनाई सक्नु भएको छ र भर्पाई हराएको भए ९८५१३१६०३४ र ९८५१३१६०३५ नम्बरमा Whatsapp मा आफ्नो नागरिकताको फोटो दुवै साइडको पठाउनु पर्नेछ जसमा अङ्ग्रेजी नाम र अङ्ग्रेजी जन्म मिति खुलेको हुनुपर्नेछ । पुरानो नागरिकता भएको खण्डमा नागरिकताको फोटो, अङ्ग्रेजी नाम र जन्म मिति खुलाई पठाएमा छिटो छरितो रूपमा काम सहज हुन्छ । विभागमा सेवाग्राहीको चाप बढेको खण्डमा ढिला हुन सक्नेछ । यदि विभागबाट ढिला हुन पुगेमा र राष्ट्रिय परिचय नम्बर अत्यावश्यक परेमा जिल्ला प्रशासन कार्यालयमा हुनुभएका राष्ट्रिय परिचयपत्रको कम्प्युटर अपरेटर वा सुपरभाइजर मार्फत समन्वय गर्नु सक्नुहुनेछ ।
श्रोतहरू: (राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट)
तीर्थराज भट्टराई, महानिर्देशक
ई. मुकेश रेग्मी, सूचना प्रविधि निर्देशक
अभय शेखर अधिकारी, शाखा अधिकृत
समिर भण्डारी, शाखा अधिकृत
हरि राउत, कम्प्युटर टेक्निसियन
किरण काफ्ले, कम्प्युटर टेक्निसियन
कम्प्यूटर ईन्जिनियरहरूः पूजा थापा, असल भट्टराई, विकल्प काफ्ले, अन्जेश ओझा, सरस्वती तिम्सिना