अहिले जाडो याम छ । जाडो मौसम शुरु भएपछि हामी आफ्नो शारीरिक स्वास्थ्य प्रति सचेत बन्छौ । शरीरको हेरचाह र ख्याल गर्छौँ । यसै गरी मनको हेरचाह र स्याहारसुसारमा पनि ध्यान दिनुपर्छ ।
जाडो मौसमले हामीलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि केही न केही प्रभावित पारिरहेको हुन्छ । मौसमको असर हाम्रो मानसिकता र शरीर दुबैमा पर्छ ।
जाडो याममा भाइरस, ब्याक्टेरियाजस्ता जीवाणु सक्रिय हुन्छन्। रुघाखोकी, निमोनिया, घुँडाका जोर्नी दुख्ने जस्ता शारीरिक समस्या देखा पर्ने हुँदा यसले पनि हाम्रो मुडलाई खराब बनाउँछ । उजाड मौसम, सुख्खा, चिसो हावा जस्ता कारणले हाम्रो मन दुखी तथा उदास बन्न पुग्छ ।
मौसमले मनमा असर
मौसमले पनि हाम्रो मनलाई प्रभाव पारिरहेको हुन्छ। घाम नलागेका बेला वा मौसम धुम्म भएका बेला मन खिन्न हुने तथा घमाइलो मौसममा मन प्रफुल्ल हुने त हामी सबैले महसुस गरेकै कुरा हो ।
जाडोयाम सुरुहुने बित्तिकै प्राय हामी सबैलाई अल्छी लाग्ने, काम गर्न जाँगर नचल्ने, मन खिन्न हुने, मुड खराब हुने, झर्को लाग्ने, झ्याउ लाग्ने, नरमाइलो लाग्ने, शरीर शिथिल हुने, थकान महसुस हुने, शरीरमा फुर्ती नआउने, वाक्क लाग्ने, नमज्जा लाग्ने, आलस्य हुने , निन्द्रा बढी लाग्ने, सुतिरहन मन लाग्ने, मुड परिवर्तन वा खराब हुने, भोक बढी लाग्ने, मोटाउने जस्ता केही न केही लक्षणहरू महसुस गर्ने गर्छौ । यी जाडो मौसममा हामी सबैमा देखा पर्ने सामान्य समस्या वा व्यवहार हुन ।
हिउँदे उदासीनता
जाडो याममा दिन छोटा तथा रात लामा हुन्छन्। साथै जाडो याममा हामीले पर्याप्त मात्रामा सूर्यको प्रकाश प्राप्त गर्न पाउँदैनौँ ।
सूर्यको प्रकाशको अभावमा सेरोटोनिन् नामक मस्तिष्क रसायनको उत्पादनमा कमी आउँछ । सेरोटोनिनको कमी हुँदा यसले हाम्रो मुडलाई प्रभाव पार्छ । जसका कारण हामीलाई उदास र निराश महसुस हुने गर्छ ।
तर यी माथिका लक्षणहरू दुई हप्ताभन्दा बढी समय सम्म लगातार देखिएमा, यसले दैनिक जीवनमा नकारात्मक प्रभाव पार्दै गएमा वा उदासीनता, नकारात्मक भावना, आत्महत्याको सोच-बिचार जस्ता लक्षणहरू देखिएमा विन्टर डिप्रेसन वा हिउँदे उदासीनता भएको भन्ने बुझ्नुपर्छ ।
जाडो याममा मनको स्याहार
जाडो याममा सूर्यको प्रकाशको कमी वा आफ्नै जीवनशैलीका कारणले गर्दा हाम्रो मुड अफ भएको हुन सक्छ । यस्तो अवस्थामा मनको स्याहारसुसारको लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।
घाममा बस्ने / घाम ताप्ने :
बिहान सबेरै उठ्ने , बिहानको समयको पारिले घाम ताप्ने । आफू बस्ने कोठा, घर वा अफिस , खाना खाने ठाउँ घाम लाग्ने गरी व्यवस्थापन गर्नुपर्छ। हामीले दिनमा कम्तीमा १५-२० मिनेट घाममा बस्ने गर्नुपर्छ । पार्कमा वा घाममा बसेर बदाम, सुन्तला जस्ता मौसमी फलफूल खाने गर्नुपर्छ । घाममा बस्दा सेरोटोनिनको उत्पादन हुन्छ त्यसले हामीलाई आनन्दको महसुस हुने गर्छ। जाडो याममा मन उदास हुने समस्या घामको प्रकाशसँग जोडिएको हुनाले घाम लाग्ने ठाउँमा बस्नुपर्छ ।
शारीरिक व्यायाम
नियमित रूपले प्रत्येक दिन योगाभ्यास, ध्यान र व्यायाम गर्नुपर्छ। मर्निङवाक जाने, साइक्लिङ आदि गर्न सकिन्छ। घाममा बसेर तेल लगाउने, मसाज गर्ने गर्नु राम्रो हुन्छ । जाडो याममा घाम लाग्ने डाँडामा पिकनिक जाने, नाच्ने-गाउने र रमाइलो गर्नाले मुड फ्रेस हुन्छ । यस्ता क्रियाकलापहरूले सेरोटोनिनको उत्पादन बढ्छ ।
खाने कुरामा ध्यान दिने:-
पोषणयुक्त आहार खाने, पर्याप्त मात्रामा मनतातो पानी तथा झोलिलो पदार्थ सेवन गर्नुपर्छ । हरियो सागपात र मौसमी फलफूल खाने गर्नुपर्छ । ओमेगा ३ भएको खानेकुराहरू जस्तै माछा र आलस खानु उपयुक्त हुन्छ । जाडो याममा ओमेगा-३ क्याप्सुल पनि खान सकिन्छ । चिसो मौसममा खानपान र लवाइजस्ता जीवनशैलीमा ध्यान दिनु जरुरी हुन्छ।
विन्टर डिप्रेसनको समस्या देखिएमा, यसका लक्षण बढ्दै गएमा वा अवस्था बिग्रिएमा भने मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।
(मनोविद् ढकाल, मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् ।)