लामोदुरीका यात्रुबाहक सवारी साधनमा २ जना चालक नराख्ने ४१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौँको नागढुंङगा नाकामा ट्राफिक कम्युनिकेसन एप्लिकेसन (टिसिए) एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाईएपछि कारवाही गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार टिसिएमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमती पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछी नागढुङगा नाका सहित सातै ओटा प्रदेशका १५ (पन्ध्र) ओटा स्थानमा रहेको चेक प्वाईनटमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए-नभएको एकिन गर्ने गरिन्छ ।
२०७५ माघ २८ गतेबाट शुरु भएको यो चेकिङ केही समय, संचालन पछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुन: २०७९ असोज ३१ गतेबाट शुरुवात गरे पश्चात २ महिनाको अवधीमा ४१ ओटा सवारी साधनका चालक कारवाहीमा परेका हुन् ।
एसएसपी भट्टका अनुसार “सवारी तथा यातायात व्यवस्था ऐन मा लामो दूरीका यात्रुबाहक सवारीसाधनमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक छ घण्टापछि पालै पालोसंग सवारी चलाउनुपर्ने उल्लेख छ ।”
तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रुपले लामोदुरीका यात्रुबहाक सवारी साधनमा दुई जना चालकको व्यवस्था गर्न गराउन सबैको दायित्व हुने भट्ट बताउँछन् ।