काठमाडौंको कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटबाट मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी चलाउने एक व्यक्ति आज सोही मोटरसाइकलसहित पक्राउ परेका छन् ।
काभ्रेपलान्चोकको महाभारत गाउँपालिका ६ लामाटोलका २७ वर्षीय युगान्त थिङले भाटभटेनीबाट बागमती प्रदेश ०२-०२७प ९७७२ नम्बरको सेतो रङको २०० सि.सिको पल्सर मोटरसाइकल चोरेर फरार भएका थिए।
आफ्नो मोटरसाइकल चोरी भएको भन्दै सवारीधनी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ घर भई हाल काडाँघारी बस्ने रामशरण चालिसेले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
चालिसेको निवेदनका आधारमा खोजी गर्दा नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२७प८७७४ राखेर चलाउँदै गरेको अवस्थामा भक्तपुरको राधेराधेबाट थिङलाई आज नियन्त्रणमा लिइएको हो ।
उनलाई चोरीको मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि आजै प्रहरी वृत्त नयाबानेश्वरमा बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले बताए।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएकोमा स्वयं सवारी धनी पनि बिशेष सजग हुनुपर्ने र सवारी चालक पनि थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र सवारी साधन पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्ने गरेमा चोरी नियन्त्रणमा प्रभावकारी भुमिका खेल्नसक्ने उनले बताए ।