काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको नतिजा र समानुपातिकतर्फ मतगणना सकिदा निर्वाचनमा सहभागी भएका दलहरूमध्येमा जम्मा सात दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएका छन् ।
विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्नबाट बञ्चित हुँदा हालै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दल सम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचनतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कम्तिमा एक सिटमा विजय प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसको अर्थ पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतका १६५ सिटमध्ये एक वा एक भन्दा बढी सिट जिते पनि समानुपातिक निर्वाचनतर्फ खसेको कुल मतको तीन प्रतिशत मत प्राप्त गर्न नसके उक्त दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सक्दैन । यद्यपि त्यस्तो दललाई संसदमा प्रतिनिधित्व गर्न भने कुनै समस्या रहन्न ।
निर्वाचन आयोगले अहिलेसम्म समानुपातिकबाट तर्फ एक करोड चार लाख ३० हजार ४३९ मत सदर भएको जनाएको छ । आयोगको सिस्टममा प्रविष्ट भएको मतको सङ्ख्या हो यो तर निर्वाचन आयोगले केही त्रुटीहरू भए त्यसलाई सच्चाएर आधिकारीक सङ्ख्या घोषणा गर्नेछ । जुन अहिलेको सङ्ख्याभन्दा केही तलमाथि हुनसक्छ ।
तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन कुनै दलले समानुपातिक निर्वाचन प्रणालीमार्फत तीन लाख १२ हजार ९१३ मत ल्याउनुपर्न देखिन्छ ।
नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टीले थेस्रहोल्ड पार गर्दा नेकपा (एकीकृत समाजवादी) सहित ४० दलहरूले थ्रेसहोल्ड पार गर्न सकेनन् ।
समानुपातिकमा कसले कति सिट पाउँछन्
प्रतिनिधि सभाका कुल २७५ सिट मध्ये ११० सिट समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था नेपालको संविधानले गरेको छ । यसका लागि समानुपातिक तर्फ खसेको गणनायोग्य मतलाई ११० ले भाग गरिन्छ र भाग गर्दा आउने संख्या बराबर एक उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
समानुपातिक सिट बाँडफाँड गर्दा विभिन्न दलहरूले समानुपातिकमा पाएको कूल सदर मतको योगफल निकालिन्छ । अहिलेको अवस्थामा सदर मत एक करोड चार लाख ३० हजार ४३९ हो ।
कुनै पनि दलले समानुपातिक निर्वाचन अन्तर्गत प्राप्त मत ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको खण्डमा उक्त पार्टीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पाएको भोट मार्फत् कुनै पनि उम्मेदवार जिताउन पाउँदैन । यसले गर्दा प्रत्यक्ष निर्वाचनमा जति धेरै सिट ल्याए पनि समानुपातिक तर्फ पाएको मत यसै खेर जान्छ ।
कूल सदर मत र त्यसको तीन प्रतिशतको हिसाव निकालेपछि तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूले पाएको मत घटाएर तीन प्रतिशत वा सो भन्दा बढी मत ल्याएका दलहरूको मतको योगफल निकालिन्छ । अहिलेको अवस्थामा तीन प्रतिशत भन्दा कम मत पाएका ४० राजनैतिक दलहरूले समानुपातिकमा पाएको मतको योगफल १२ लाख ८२ हजार ८२७ हुन्छ ।
सबै दलहरूको कूल योगफल (एक करोड चार लाख ३० हजार ४३९) बाट थ्रेसहोल्ड नकटाउने दलहरूले पाएको मतको योगफल (१२ लाख ८२ हजार ८२७) घटाउँदा आउने सङ्ख्या भनेको ९१ लाख ३७ हजार ३७६ हो ।
अब उक्त सङ्ख्या (९१,३७,३७६) लाई समानुपातिक सिट सङ्ख्या (११०) ले भाग गरिन्छ र आएको भाजकले थ्रेसहोल्ड कटाएका दलहरूले पाएको मतलाई भाग गरिन्छ । त्यसपछि आउने सङ्ख्या भनेको दलहरूले पाउने सिट सङ्ख्या । यदि उक्त सङ्ख्या दशमलवमा आएमा त्यसलाई शून्यान्तर गरेर सग्लो अंक निकालिन्छ ।
उदाहरणको लागि थ्रेसहोल्ड नकटाएका दलहरूले प्राप्त गरेको मत घटाउँदा आएको जम्मा मत ९१ लाख ३७ हजार ३७६ लाई समानुपातिक सिट सङ्ख्या ११० ले भाग गर्दा ८३ हजार १६० हुन्छ ।
नेकपा एमालेले समानुपातिकमा २७ लाख ९१ हजार ७३४ मत पाएको छ । एमालले पाएको मतलाई ८३ हजार १६० ले भाग गर्दा ३३.५७ हुन्छ । त्यो भनेको एमालेले समानुपातिकमा पाउने सिट सङ्ख्या हो । यसलाई सग्लो अंकमा शून्यान्तर गर्दा ३४ हुन्छ ।
यही विधिबाट नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केनद्र) ले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट, जसपा र जनमत पार्टीले समान पाँच पाँच सिट पाउने देखिन्छ ।
दस प्रतिशत वा सोभन्दा बढी सिट प्राप्त गर्ने दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूको बन्दसूचीमा २८.७ प्रतिशत उम्मेदवारहरू आदिवासी जनजाति, ३१.२ प्रतिशत उम्मेदवार खस आर्य, ६.६ प्रतिशत उम्मेदवार थारू, १३.८ प्रतिशत उम्मेदवार दलित, १५.३ प्रतिशत उम्मेदवार मधेसी, ४.४ प्रतिशत उम्मेदवार मुस्लिम, कम्तीमा ५० प्रतिशत उम्मेदवारहरू महिला र कम्तीमा ४.३ प्रतिशत उम्मेदवारहरू पिछडिएको क्षेत्रबाट सुनिश्चित गर्नुपर्ने व्यवस्था छ ।
र यो पनि पढ्नुहोस् : २७५ सासंदको हिसाव: प्रतिनिधि सभामा स्वतन्त्र सहित १३ दल
Disclaimer : १६४ वटै निर्वाचन क्षेत्रको मतगणना हुँदा प्रकाशित गरिएको यो समाचार १६५ वटै निर्वाचन क्षेत्रको मतगणना आइसकेपछि पुन सम्पादन गरिएको हो । निर्वाचन आयोगमा उपलव्ध तथ्याङ्कका आधारमा समानुपातिक तर्फ राष्ट्रिय पार्टी बनेका सात दलले पाउने सिट सङ्ख्याको हिसाव हामीले निकालेका हौँ । निर्वाचन आयोगले घोषणा गर्ने सङ्ख्या र यो सङ्ख्यामा एक सिटमा तलमाथि हुनसक्छ ।