म सानो छँदा टिफिन खान दिएको पैसाले चित्र कथाका किताबहरू किनेर पढ्थे । त्यही बाल स्मृतिको एक कथा म पटक्कै बिर्सन सक्दिन । मेरो मन छोएको कथाले राम्रो सन्देश दिने कुरामा म विश्वस्त छु ।
दुई जना बाबु छोरा, मावल/ससुराल जाँदै थिए । लामो बाटो कठिन यात्रा । बाटोमा जाँदै गर्दा एउटा भ्यागुताले गाई खाँदै गरेको देखे । हेर्दा हेर्दै सानो भ्यागुताले गाई पुरै खाएर सक्यो । यो दृश्य देख्ने बाबु र छोरा मात्रै थिए । उनीहरूलाई यो दृश्य अनौठो र आश्चर्यजनक लाग्नु स्वाभाविक भएता पनि साँचो थियो । बाबुले छोरालाई सम्झाउँदै भने, ‘छोरा यो कुरा कसैलाई नभन्नु है’ । छोरा एक त बच्चा त्यस माथि कौतूहल ‘किन बुबा किन भन्न हुन्न ?’
बुबा : ‘किन भनौँ खै, तिमि सानो छौ त्यसैले अहिले कारण भन्दा पनि तिमिले बुझ्न सक्दैनौँ । अहिले मैले भनेको मान र यो कुरा कहीँ कसैलाई नभन । समय आएपछि म आफैँ तिमीलाई बताउने छु ।’
तर चञ्चल बच्चो साथीलाई भनिदियो ।
थाहा छ ? बुबा र मैल त मामा घर जाँदा भ्यागुताले गाई खाएको देखेको नि !
साथी : के हो केटा, भ्यागुताले कहीँ गाई खान्छ ?
नपत्याए बाजि राखौँ, मेरो बुबाले पनि देख्नुभएको ।
लु बाजि भयो ५०/५० रुपैयाँ ।
दुबै जनाले बाबुलाई भेटेर सोध्छन् के भ्यागुताले गाई खायो त?
बाबु : ‘खै मैले त यस्तो केही देखिन, सायद मेरो छोराले सपना देख्यो होला ।’
कुरा साँचो हुँदाहुँदै पनि बच्चाले ५० रुपैयाँको बाजि हार्यो ।
बच्चो रुन थाल्यो, ‘बुबा तपाईँले झुट बोलेर मलाई बाजि हराउनु भयो ।’
मैले तिमिलाई त्यो कुरा कहीँ नभन्नु भनेको होइन त ?
ल अब एउटा काम गर ।
हाम्रो गाई ब्याउन लागेको छ । गाई ब्याए पछि बाछो/बाछी सधैँ मिरमिरेमा लगेर नजिकको खोलामा पखालेर ल्याउने काम गर्ने जिम्मा तिम्रो ।
गाई ब्यायो छोराले नियमित नयाँ गाईको बाछो खोलामा लगेर घर ल्याउन थाल्यो । यो क्रमिक रूपमा गर्दा बाछो डोरी फुकाउन साथ उफ्री उफ्री खोला जान थाल्यो ।
बुबाले भने अब तिमिले पहिला बाजि राखेको साथी सँग १०० रुपैयाँको बाजि राख र भन ‘हाम्रो बाछो ननुहाई दूध खाँदैन ।’ केटोले बाजि राख्यो । साथी बस्ने गरी आयो र बिहान दाम्लो फुकाउने बित्तिकै बाछो खोलामा गयो डुबुल्की मारेर घर फर्केर दूध खायो । बाजि जित्यो किनकि त्यसको परिणाम आँखा सामु थियो ।
हो यही भ्यागुता र गाईको कथा जस्तो भयो महिला हिंसाका वेदनाहरू, नपत्याउने, साथ नदिने, उल्टै पङ्गु बनाउने प्रताडित गर्ने समाज । आफैलाई नपरे सम्म नचेत्ने । पीडित प्रति संवेदनशील नहुने । घटना बनावटी र असम्भव देख्ने ।
अहिलेको समयमा मेरो मनमा गढेका केहि घटना
१. बलात्कारको आरोपीलाई ढाडस
बलात्कारका आरोपीलाई ढाडस दिँदै एक नेताले भने – पल जी तपाई बलियो आत्मबल लिएर बस्नुस् । जीवनमा यस्ता किसिमका सङ्कटहरू आँउछन । यस्तो बेलामा तपाईँले आफूले आफैलाई पिडा दिनुभयो भने झन् गारो हुन्छ । संसारमा धेरै मान्छे यस्तो घटनामा परेका हुन्छन् ।
बलात्कारको आरोपीलाई राष्ट्रिय टिभी मार्फत ढाडस दिने नेता बलात्कारको विषयमा कति संवेदनशील ?
एक छिन घोत्लिएर सोच्नुस् त यदि सामान्य गरिब र कसैले नचिनेको र कुनै हैसियत नभएको व्यक्तिले कसैलाई यौन हिंसा गर्यो भने के त्यसलाई नेता, समाजसेवी र सर्वसाधारणले फलानो जी, उहाँ भनेर सम्बोधन गर्न सक्छन् ? अहँ सक्दैनन् किनकि त्यो गरीवले गरेको यौन हिंसा मात्र अपराध हो तर समाजमा नाम चलेको र प्रतिष्ठित भनिएको व्यक्तिले यौन हिंसा र अपराध गरे पनि यो समाजमा उ सम्मानित र पूजनीय नै हुन्छ भन्ने प्रमाण चर्चित नेता जस्ताले दिए । पल शाह र सन्दीप को विरुद्धमा बोल्दा भोट जित्ने सम्भावना छैन भन्ने कुरा नेताजीले बुझेका छन् ।
यो समाज शक्तिको पुजारी हो मानवताको पुजारी होइन ।
नेता जी सँग मेरो न व्यक्तिगत दुस्मनी छ न चिनाजानी तर यही प्रस्तुतीको कारण मेरो मनमा एक नराम्रो छाप परेको छ । हुन त अब संसद् हलमा केही २ विवाह गरेका त कोही घरमा श्रीमती हुँदा हुँदै बाहिर एक्ट्रा मेरिटियल अफेयर्स चलाएका मात्र होइन कि बाहिर बच्चा नै बनाएर धुर्त्याइँ/चतुर्याईका साथ कानुनी पन्जाबाट उम्किएका नैतिक पतन भएका व्यक्ति नहोलान् भन्न सकिन्न तर नेता जी सँग धेरै अपेक्षा गरिएछ कि क्या हो मन नै टुट्यो । चुनावको नतिजाले उहाँले सुध्रिनु पर्ने देखियो
आशा गरौँ भविष्यमा सुध्रिनु हुन्छ । पीडितको स्थानमा आफ्नी छोरी कल्पना गरेर संवेदनशील हुन आग्रह गरियो । मलाई थाहा छ नेता जी यो विषयमा माफी समेत माग्दैनन् । समाज चली रहन्छ ।
२. दुराचारीलाई बधाई तथा शुभकामना सन्देश
दुराचारीलाई बधाई र शुभकामना दिने महिला अधिकारकर्मी र केही पीडित भनिएका महिलाहरू देखेर उदेक लाग्यो । परस्त्री गमन बारे जानकार नभएर हो कि यौनको मामिलामा खुल्ला बिचार आएर होला ? यो उनीहरू नै जानुन् ।
मेरो श्रीमान् बेलायती हुनुहुन्छ कट्टर बेलायती तर बेलायतीहरूलाई सुनाउँदा पनि जिब्रो टोक्ने सम्बन्धहरू नेपाली महिलाहरूले सजिलै पचाउन थाले ?
कि कानुनमा नगएको मामिलामा बेवास्ता गरेका हुन ? अनि किन हदम्याद नाघेका पिडाहरू फेरि मिडियामा आउँछ र साथ खोज्छन् तिनै दोगला चरित्रहरू ? पीडित भनाउँदा नै मौका हेरि हेरि शक्तिको पुजारी भएको देखियो !! म स्तब्ध, मन स्तब्ध ।
आफूलाई पिडा दिने पुरुष गलत लाग्छ भने कुनै अर्की महिलालाई पिडा र शोषण गर्ने पुरुष चाहिँ कसरी सही लाग्छ ?? यी सबै ढोँगी रहेछन्, अवसरवादीहरू ।
अमेरिकाबाट पत्रकार गोपाल गड्र्तौला लेख्नु हुन्छ – ‘पश्चिमाहरू कयौपटक विवाह गर्न वा सम्बन्ध विच्छेद गर्न सक्छन् तर एकै पटक बहु पती वा बहु पत्नी राख्ने कल्पना पनि गर्दैनन् । अर्थात् सम्बन्धहरू जोड्न टुटाउन ऊनीहरूका लागि सामान्य हो । तर एकसाथ दुई जना सँग सम्बन्ध कायम राख्दैनन्। एकसाथ दुई पत्नी भएका कारण राजा त्रिभुवनले उपचारको लागि समेत अमेरिकाको भिसा नपाएको समाचार पढेको थिए !’
एक जना ५५ वर्ष नाघेको दिदी हुनुन्थ्यो, उहाँको श्रीमानलाई जीवनको उत्तरार्द्धमा परस्त्री गमनको दोष लाग्यो । पढे लेखेको दिदी हुनुहुन्छ उहाँ । बुढेसकाल अनि नेपाली समाज जुन एकल महिलाको लागि कठोर छ । दिदीले सम्बन्ध विच्छेद्य त गर्नु भएन तर घरमा भान्सा छुट्टियो । सामाजिक सञ्जालबाट दुई जना भएका फोटो हटे । सामाजिक कार्यहरूमा दुई जनाको सहभागिता भएन । बहिस्कारको यो तरिका गज्जब राम्रो थियो । कुनै कुनै बहिस्कार साधारण देखिएता पनि अपराधीलाई सजाय काफी पुग्ने हुन्छन् ।
३. सामाजिक सञ्जालमा महिला हिंसा
सामाजिक सञ्जालमा महिला माथि गरिएका अराजक टिप्पणी र लखेटेको देख्दा नै थाहा हुन्छ अधिकांश पुरुषहरू (अधिकांशको मतलब सबै होइनन् धेरै हुन) केही पुरुषवादी सोच भएका महिलाहरूले पनि विद्रोही र कडा स्वभावका महिलालाई मन पराउँदैनन् सुन्न चाहँदैनन्। उनीहरूलाई त पुरातनवादी सोच भएका कथित सुसंस्कारी र सहनशील महिला मात्र समाजका लागि असल हुन अरू त समाजका बाधक र समाज भँडुवा लाग्छ ।
चेतनको स्तर उच्च, निडर र दासत्व बाट मुक्त महिलाको कमीले गर्दा नै नेपाली समाज र विशेष गरी नेपाली महिलाहरू पछि परेका हुन् यति भन्न लाई कन्जुस्याइँ गर्नु पर्दैन। पुरुषले त साहसी, निडर र स्वतन्त्र महिलालाई देख्नै चाहँदैनन् बरु आँखाको कसिङ्गर ठान्छन् र आफ्नो दम्भ र अहङ्कारको बाधक ठान्छन् । अपवाद बाहेक पुरुषले त महिला स्वतन्त्र, आत्मनिर्भर, अधिकार सम्पन्न भएको देख्नै चाहँदैनन् चाहे शिक्षित हुन या अशिक्षित ।