काठमाडौँमा बसेर ८ कक्षामा पढ्ने अस्मि (नाम परिवर्तन) को कोठामा रातीसम्म बत्ती बल्थ्यो । छोरी रातीसम्म बसेर पढ्दै छे भनेर बुवा आमा मख्ख थिए । एक दिन राती अस्मिकी भाउजू बत्ती निभाउन नन्दको कोठामा पस्दा मोबाइल नजिकै राखेर निदाइरहेको देखिन् ।
सधैँ राती राती नन्द किन मोबाइल चलाएर बस्छिन् भनेर मोबाइल चेक गर्दा भाउजू अत्तालिइन् । मोबाइल टेबलमा राखिदिएर उनी सुत्न गइन् । भोलिपल्ट बिहानै उनले उक्त कुरा आफ्नो श्रीमानलाई बताइन् । श्रीमानले उनको कुरा सुन्न मानेनन् ।
भोलिपल्ट नन्द सुतेपछि मोबाइल ल्याएर श्रीमानलाई देखाइन् । फेसबुकको म्यासेन्जरमा गरेको च्याट देखेर उनी छक्क परे । बिहानै उठेर उनीहरूले उक्त कुरा बुवा आमालाई सुनाए । तर बुवा आमाले उनीहरूको कुरा पत्याएनन् । दाजु भाउजूले स्कुल पढ्ने विद्यार्थीलाई मोबाइल दिनु हुँदैन भनेर सम्झाउँदा पनि पढ्नलाई चाहिन्छ भनेर बुवा आमाले मानेनन् ।
त्यसको दुई तिन दिनपछि अस्मिले टिकटकमा एक्लै बस्न मन पर्छ, सुसाइड गर्न मन लाग्छ भन्ने खालको पोस्टहरू गर्न थालिन् । यो देखेर दाजु भाउजूले अस्मिलाई मनोसामाजिक परामर्श दिन थाले । मनोविद्सँगको कुराकानीमा अस्मिले आफूले माया गरेको मान्छेले धोका दिएको बताइन् । साथै उनीहरू बीचमा भएको गोप्य च्याट पनि सार्वजनिक गरिदिने धम्की दिएकोले आफूलाई आत्महत्या गर्न मन लागेको बताइन् ।
त्यसपछि अस्मिको परिवारले साइबर ब्युरो गए । त्यो केटाको फेसबुक आइडी डिएक्टिभेट गरेर उनीहरू बीच भएको च्याटहरू डिलिट गर्न लगाएर अबको दिनमा कुनै धाक धम्की नदिने र आफ्नो बाटोमा हिँड्ने केटाले प्रण गरेपछि अस्मि अहिले आफ्नो पढाइलाई निरन्तरता दिन थालेको छिन् । सामाजिक सञ्जालको लत लागेपछि छुट्न गाह्रो हुने रहेछ, ‘केटिएम दैनिकसँगको कुराकानीमा उनले भनिन् ।
क्लास वर्कहरू गर्नको लागि भनेर परिवारले मोबाइल किनिदिनुभएको थियो, तर मैले त्यसको गलत प्रयोग गरे । सामाजिक सञ्जालमा लेखिएका कुराहरू स्कृनसट गरेर राख्न मिल्ने हुनाले नचाहिँदो कुराहरू नलेख्न म सबैलाई अनुरोध गर्न चाहन्छु, उनले भनिन् ।
यो त एक उदाहरण मात्र हो । साइबर अपराधको घटनामा उजुरी गर्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । टेक्नोलोजीको विकाससँगै इन्टरनेटमा मानिसहरूको निर्भरता पनि बढेको छ । अहिलेको परिपेक्षमा हेर्दा पनि इन्टरनेटको प्रयोग हरेक ठाउँमा भएको छ । इन्टरनेटको प्रयोगको सकारात्मक प्रभावसँगै साइबर अपराधका घटनाहरू पनि दिनानुदिन बढिरहेको तथ्याङ्कहरूले देखाउने गरेको छ ।
केटिएम दैनिकले नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीबाट प्राप्त गरेको विगत तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार आ.ब ०७६/७७ मा दुई हजार ३०१ उजुरी परेको देखिन्छ भने आ.ब. मा उजुरी सङ्ख्या बढेर तीन हजार ९०६ पुगेको छ । अघिल्लो आ.ब. मा सो सङ्ख्या बढेर चार हजार ६८६ पुगेको छ । चालु आ.ब को तथ्याङ्क भने प्राप्त हुन सकेको छैन ।
त्यसमा पनि फेसबुक मार्फत हुने अपराधको हिस्सा निकै बढी छ। तीन आर्थिक वर्षमा कूल १० हजार ८९३ उजुरी परेकोमा ८८ दशमलव ६६ प्रतिशत अर्थात् नौ हजार ६५७ उजुरी फेसबुक र म्यासेन्जरसँग सम्बन्धित छन् । स्त्रीलाई अनेकौँ सपना र प्रेम देखाएर बिहे गर्छु भन्दै तिनका गोप्य अंग देखाउन लगाउने र पछि तिनै महिलाहरूलार्ई ब्ल्याक मेल गरी पैसा ठग्ने प्रवृत्ति ह्वात्तै बढिरहेको छ।
साउदी अरबमा रहेका एक विवाहित पुरुष र नेपालमा रहेकी महिलाबीच सामाजिक सञ्जाल मार्फत चिनजान भयो । उनीहरू दिनहुँ कुरा गर्न थाले । आफ्नो, परिवार र कामको बारेमा कुरा गरेर उनीहरू घण्टौँ समय बिताउँथे ।
कुरा गर्दा गर्दै उनीहरू अपरिचितबाट घनिष्ठ मित्र भए । केटा नेपाल आएको बेलामा उनीहरूको भेटघाट र घुमघाम हुन थाल्यो । यसरी नै उनीहरू एक अर्काको करिब हुन पुगे ।
केटाले साउदीमा बसेर हेर्छु भनेर सहमतिमै इन्टिमेट अवस्थाका केही फोटो र भिडियो खिचे । अहिले उनीहरूबिचको सम्बन्ध राम्रो छैन । सम्बन्ध बिग्रिएपछि फोटो तथा भिडियोहरू केटीको श्रीमान्, तथा आफन्तहरूलाई पठाउन थाले । गल्ती आफ्नै भएको भन्दै उनले प्रहरीको समक्ष उजुरी गर्न जान डराइन् ।
केटाको पटक पटक धम्की दिँदै भन्थ्यो, ‘तँलाई सडकमा पुर्याएर छाड्छु कि त आत्महत्या गर्न बाध्य पार्छु ।’ अहिले साना छोराछोरी सहित महिला एक्लै बस्छिन् ।
साइबर अपराधका घटनाहरू बढ्नुमा राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो रहेको मनोविद् गोपाल ढकाल बताउँछन् । साइबर अपराध विरुद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचो देखिएको उनको भनाई छ । सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
'मसँग परामर्श लिन आउनेहरूमा १३ देखि १९ वर्षसम्मका युवा/युवतीहरू रहेका छन् । माया र विश्वासको आधारमा उनीहरू अश्लील बोल्ने र कपडा खोल्नसम्म तयार रहन्छन् । जसले गर्दा उनीहरूमा मानसिक असर पर्छ । उक्त पोस्ट तथा भिडियो क्लिपहरू राखेर धम्की दिने प्रचलन अहिले बढ्न थालेको छ ।' उनले भने ।
यो विषयमा परिवारहरूले पनि आफ्नो छोराछोरीहरू के गर्दै छन् मोबाइलको लतमा पो परे कि ? भनेर उनीहरूको निगरानी गर्नुपर्ने कुरामा ढकाल जोड दिन्छन् ।
नेपालमा साइबर सञ्जालले खास गरेर युवा समुदायलाई बढी व्यस्त बनाइदिएको जानकारहरू बताउँछन् । इन्टरनेटको माध्यमबाट पैसा ठग्ने, बैंकहरू लुट्ने, ठुला–ठुलो औद्योगिक संस्थानहरूका साइटहरू ह्याक गर्ने, फिरौती माग्ने गरेको समेत पाइएको छ । तीन वर्षको अवधिमा ४३ वटा साइटहरू ह्याक गरेको उजुरी पर्दा २३८ वटा बैंक तथा वित्तीय संस्थाहरू अनधिकृत पहुँच पुर्याएको भन्दै उजुरी परेको छ ।
उजुरी गर्न समस्या
सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरूको बिगबिगी छ । अझ केही मानिसका लागि त सामाजिक सञ्जाल नकारात्मकता फैलाउने महत्त्वपूर्ण क्षेत्र पनि बनेको छ । ‘मान्छेको भावनामा खेलेर होस् या ब्लाकमेल गरेर होस्, साइबर दुरुपयोग बढेको छ जसको नकारात्मक प्रभावमा बालबालिका तथा युवा धेरै छन् ।
नेपालभर साइबर क्राइमको मुद्दा हेर्ने एक मात्र काठमाडौँ जिल्ला अदालत हो । साइबर ब्युरो गठनको प्रक्रिया अघि बढेको छ । यो प्रक्रिया पूरा भएपछि सातै प्रदेशमा साइबर ब्युरो खुलेपछि मात्रै नेपालभर उजुरी दिन सकिन्छ ।
त्यहीँ भएर अहिले उजुरी गर्न काठमाडौँ नै आउनु पर्ने बाध्यता छ । पछिल्लो समय इलाका प्रहरी कार्यालय मार्फत पनि उजुरी दिन सकिने नियम बनाएको छ । तर, त्यो प्रक्रिया झन्झटिलो छ । साइबर चेतनाकै कमीले पछिल्लो समय अपराध निरन्तर बढिरहेको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको आज दोस्रो दिन हो । केटिएम दैनिकले अघिल्लो वर्षदेखि आफ्नै प्रयासमा १६ दिने अभियानमा प्रत्येक दिन फरक फरक स्टोरी प्रकाशित गर्दै आइरहेको छ । यो पटक पनि अघिल्लो वर्षकै निरन्तरता दिँदै हामीले १६ दिने अभियान मनाउने क्रममा छौ ।