राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आज लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई सुन्धारा कारागार पठाइएको जिल्ला अदालत स्रोतले जनाएको छ ।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो।
काठमाडौं जिल्ला अदालतको आदेशसँग अब सन्दीप कारागारमा बसेर मुद्दा लड्नुपर्ने हुन्छ । तर, जिल्ला अदालतको यो निर्णयविरुद्ध उनी उच्च अदालत जान सक्छन् ।
उच्च अदालतले पनि जिल्लाको निर्णय सदर गरेको खण्डमा मुद्दा नसकिएसम्म जेलमै बस्नुपर्ने हुन्छ ।
सन्दीप लामिछानेविरुद्ध जाहेरी परेको समाचार ब्रेक गरेको केटिएम दैनिकले निरन्तर यस विषयलाई फ्लोअप गरिरहेको थियो । विभिन्न सञ्चारमाध्यममा सन्दीपविरुद्ध जाहेरी दिने किशोरी नाबालिग भएको समाचार आइरहँदा केटिएम दैनिकले पीडित भनिएकी किशोरीको जन्मदर्ता प्राप्त गरेर सोहीअनुसार आएका समाचारहरू खण्डन समेत गरेको थियो ।
अधिवक्ता सरोजकृष्ण घिमिरे एक कार्यक्रममा भाग लिन लाओस् गएको समयमा केही सञ्चारमाध्यमहरूले सन्दीपलाई भेट्न सिंगापुर पुगेको समाचार बनाइरहँदा केटिएम दैनिकले ती अधिवक्तासँग सम्पर्क गरेर सत्यतथ्य बाहिर ल्याएको थियो । यो बीचमा धेरै सञ्चारमाध्यममा सन्दीप कहिले सिंगापुर त कहिले दुबई आएको समाचार आएतापनि अन्तिममा सन्दीप अमेरिका भएको खुलेको थियो ।