नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (बुधवार) देखि थुनछेक बहस शुरु भएको छ ।
थुनछेक बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिइएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए । जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको उनको दाबी छ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि वकालत गरेको उनले बताएका छन् ।
सापकोटाले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताए । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको उनको भनाइ छ ।
उनले भने, ‘काठमाण्डौ जिल्ला अदालत समक्ष हामीले दुई वटा विषयवस्तु जोडदार रूपमा उठायौँ । जबरजस्ती करणी भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ ।
पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने ? जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने ? किनभने नागरिकता पछि बनेको कागज भयो । जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।’ आजदेखि शुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।