ललितपुरको कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गरिएको छ । कात्तिक ४ गते राति तीन जना व्यक्तिहरूले उक्त बैंकको एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका हुन् ।
प्रहरीले यस कार्यमा संलग्न भएको आरोपमा नुवाकोट वेलकोटगढी नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, सोही महानगरपालिका-६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका-१५ भानुचोक घर भई ललितपुर महानगरपालिका-६ सुन्धारामा बस्ने ३५ वर्षीय अनिल राईलाई पक्राउ गरेको छ ।
फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका व्यक्तिउपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यसअगाडि पोखरामा सोही बैंकको एटिएम मेसिन तोडफोड गरिएको थियो । गत भदौँ ५ गते पोखराबाट एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरेर नगद लिइ फरार भएका व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको थियो ।
त्यस्तै असोज ४ गते पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।