मंसिर ४ गते हुने सुनसरी क्षेत्र नम्बर-१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमाले-जसपाका साझा उम्मेदवार अशोक राईविरुद्ध एमालेकै मनोजकुमार मेन्याङबो बागी उम्मेदवार छन्।
एमाले अध्यक्ष केपी ओलीले पार्टीको अस्तित्व समाप्त पार्ने गरि एमालेबाट विद्रोह गरेका मनोजकुमारले जनता समाजवादी पार्टीका संघीय अध्यक्ष राईलाई पराजित गर्ने बताउँदै आएका छन्। एमाले र जसपा तालमेल गर्दा सुनसरी क्षेत्र नम्बर १ जसपाको भागमा परेपछि एमाले कार्यकर्ताहरु पार्टी नेतृत्वप्रति रुष्ट बन्दै विद्रोहमा उत्रिएका हुन्।
एमालेले सुनसरी क्षेत्र नम्बर १ मा निवर्तमान सांसद जयकुमार राईको एकल नाम सिफारिस गरेको भए पनि ओलीले एमालेले जित्ने क्षेत्रमा जसपालाई टिकट दिएकाले आफूले बागी बनेको मनोजकुमारको तर्क छ। धरान उपमहानगरपालिकाको पूर्व मेयरसमेत रहेका उनी एमालेको प्रदेश १ का सचिवालय सदस्य हुन्।
एमालेको आधार इलाका मानिने धरानमा पार्टी नेतृत्वले गलत व्यक्तिलाई टिकट दिएका कारण पराजित हुनुपरेको भन्दै आफुले एमाले पार्टीको अस्तित्व बचाउनका लागि उम्मेदवारी दर्ता गरेको मेन्याङबोले बताएका थिए।
एमाले प्रदेश १ का सदस्य किशोर कार्कीले पार्टी नेतृत्वको गलत र निरंकुस प्रबृतिका कारण मनोज मेन्याङबोलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि अगाडि सारिएको र सिंगो एमालेको साथ रहेको बताए। यसरी सुनसरी-१ मा एमालेले जसपाका वरिष्ठ नेता अशोक राईलाई हराउनका लागि सक्रिय भएपछि अन्य क्षेत्रमा जसपाले पनि एमाले उम्मेदवार हराउन भूमिका खेलिरहेको छ।