०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ बाट फराकिलो जित निकालेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आगामी मंसिर ४ गते हुने निर्वाचन सहज हुने आँकलन गरिएको छ।
अघिल्लो पटक जसपा र तत्कालीन राजपा मिलेर चुनाव लड्दा पनि जित हात पारेका महन्थले यसपटक नेकपा एमाले नेतृत्वको गठबन्धनबाट जनता समाजवादी पार्टीका हरिनारायण यादवसँग चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।
‘हेभीवेट’ ठाकुरसँग प्रतिस्पर्धा गर्ने जसपा नेता यादव पूर्वमन्त्री र संविधानसभा सदस्य हुन्। उनले राष्ट्रिय राजनीतिमा पनि खासै प्रभाव जमाउन सकेका छैनन्। गत ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा दलहरुको मत हेर्दा यो क्षेत्रमा नेकपा एमाले निकै कमजोर छ।
जसपाको मतले मात्रै यादवलाई जिताउनका लागि मत पुग्न नसक्ने र लोसपाका अध्यक्षसमेत रहेका महन्थलाई सत्ता गठबन्धनका पाँचवटै दलको समर्थन भएका कारण उनलाई सहज हुने आँकलनहरु भइरहेका छन्।
स्थानीय तह निर्वाचनमा पालिका प्रमुखहरुको मत मरिणाम हेर्दा यो क्षेत्रमा एमाले-जसपा गठबन्धन महन्थ ठाकुरभन्दा बढी भए पनि कांग्रेस र माओवादीको पनि राम्रो भएका कारण महन्थलाई जितका लागि सहज हुने आँकलनहरु गरिएका हुन्।
महोत्तरी ३ को प्रदेश सभाका दुईवटै क्षेत्र लोसपाले लिएको छ। ‘क’मा लोसपाका अभिराम शर्मा र ‘ख’ मा पनि लोसपाकै रानी शर्मा उम्मेदवार छन्।
जसपा र एमालेबीच तालमेल भए पनि असन्तुष्ट बन्दै एमालेबाट रामआधार कापरले स्वन्त्र रुपमा बागी उम्मेदवारी दिएका छन्। लाल र कापरले यादवको मत काट्दा महन्थको मतान्तर फराकिलो हुने देखिन्छ। अर्कोतर्फ उमेरका हिसाबमा पनि वृद्ध भएका कारण उनलाई सद्भावको मत पनि खस्ने आँकलन गरिएको छ।
०७४ को निर्वाचनमा मधेशवादी दलको साझा उम्मेदवारको रुपमा चुनाव लडेका ठाकुरले २७ हजार मतसहित वाम गठबन्धनका विजय चौधरीलाई हराएका थिए। त्यतिबेला चौधरीले ८ हजार ६७७ मत मात्रै ल्याएका थिए। ०७४ मा चौधरीसँग ठाकुरको मतान्तर १८ हजार भन्दा थियो।
यस चुनावमा पनि भारी मतान्तरले निर्वाचित हुने ठाकुरको दाउ रहेको छ।