वि.स. २०५२ सालमा गणेशमान सिंहको परिकल्पना र निर्देशनमा स्थापना भएको गणेशमान सिंह अध्ययन प्रतिष्ठानको अध्यक्ष पदमा सपना राजभण्डारी शनिवार (आज) सम्पन्न सभाबाट निर्वाचित भएकी छन् ।
काठमाडौंमा आज सम्पन्न भएको प्रतिष्ठानको सभाबाट उपाध्यक्ष पदमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर जगदीशचन्द्र पोख्रेल, महासचिवमा चिकित्सक डाक्टर भूपेन्द्र कुमार बस्नेत र सचिव पदमा सहप्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारी चयन भएका हुन् ।
प्रतिष्ठानले निरन्तर बौद्धिक, रचनात्मक र राष्ट्रहित सम्बन्धि काम गर्दै आइरहेको छ । अध्यक्षमा निर्वाचित सपना राजभण्डारी प्रतिष्ठानको संस्थापक अध्यक्ष नेपाली कांग्रेसका दिवंगत नेता स्वर्गीय नवीन्द्रराज जोशीको धर्मपत्नी हुन् । उनि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छिन् ।
स्व. नेता नविन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनु अघि राजभण्डारी सक्रिय विद्यार्थी राजनीतिमा थिइन् । नवीन्द्र यहीँ क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
०७४ को निर्वाचनमा उम्मेदवार बनेका जोशी तात्कालिन नेकपा एमालेका जीवन राम श्रेष्ठसँग मात्र ४४४ मतान्तरले पराजित हुने पुगेका थिए । निर्वाचित श्रेष्ठले १३,३९७ मत पाउँदा जोशीले १२,९५३ मत पाएका थिए ।
मष्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराउँदै गर्दा जोशीको २०७७ साल चैत १३ गते बेलुका निधन भएको हो । श्रेष्ठ अहिले नेकपा (एकीकृत समाजवादी) बाट पर्यटनमन्त्री बनेका छन् ।