नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरू सत्ता स्वार्थका लागि देश बेच्न पनि पछि नपर्ने बताएका छन्। शनिबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको भन्दै सत्ता स्वार्थका लागि देशपनि बेच्न तयार रहेको आरोप लगाएका हुन्।
उनले गठबन्धनले चुनाव जित्नका लागि पैसाको खोलो नै बगाएर जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगाएतका षड्यन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षड्यन्त्रलाई विफल बनाउनुपर्ने बताए।
उनले वर्तमान सरकारका कारण मुलुकमा महङ्गी, भ्रष्टाचार, अनियमितता बढेको आरोप लगाए। अहिले लाखौ रुपैयाँ लिएर भुटानी शरणार्थीलाई परिचय पत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको बताए।
कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा थुनेको मात्रै होइन उनका छोरी बुहारी र भतिजीहरूलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाए । उनले भने, ‘यी सबै व्यवस्थाको अन्त्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’ ओलीले अब एमालेभित्र कुनैपनि प्रकारको गुटबन्दी हुन नदिने बताए।