नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नागरिकसँग चार घण्टा टेलिफोन संवाद गरेका छन् । अध्यक्ष ओलीसँग संवादका लागि बिहीबार मध्यान्ह १२ बजेसम्म दुई लाख नौ हजार ११६ जनाले नाम टिपाएका थिए ।
अध्यक्ष ओलीले नाम टिपाएकामध्ये केहीसँग पार्टी केन्द्रीय कार्यालय च्यासलबाट गोलाप्रथा गर्दै टेलिफोन संवाद गरेका हुन् तर कतिजनासँग टेलिफोन संवाद गरे भन्ने खुलेको छैन । उनले क्रमैसँग बाँकी रहेकासँग पनि संवाद गर्ने जनाएका छन् ।
मंगलबार उनले कात्तिक ४ गते शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने हुँदा आम नागरिकलाई आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर र नाम म्यासेज गर्न अनुरोध गरेका थिए ।
अध्यक्ष ओलीको अनुरोधसँगै बुधबार एकैदिन एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएका थिए । बिहीबार अपराह्न १२ बजे सम्म दुई लाख नौ हजार ११६ जनाले नाम टिपाएको ओलीको सचिवालयले जनाएको छ।
मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष ओलीले नागरिकसँग प्रत्यक्ष संवाद थालेका हुन् ।
ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । ‘Call KP Baa कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें। तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु। दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ। म क्रमैसँग कुरा गर्दै जानेछु ।’