नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल निमिसलाई सम्झँदै सकिएको छ । प्रतियोगिताको अन्तिम दिन मङ्गलबार खेलकै क्रममा ज्यान गुमाएका प्याराग्लाइडर निसिम थापालाई सम्मानस्वरुप स्वर्ण पदक र २५ हजार नगद दिइएको छ ।
खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय गरिएको छ । प्याराग्लाइडरका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप स्वर्ण पदक दिएको हो । उनका काका भेनस थापाले पदक लिए । थापाको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ ।
बीमाको रकम बाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजङग गहतराजले जानकारी दिए । नेपाल आर्मीको समूहले ब्यानरमा उनको रङ्गीन तस्बीरसहित “वी वील मिस यु ….।” लेखेको छ ।
खेलकै क्रममा दुर्घटना भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो अभ्यास खेलको नतिजालाई आधारमानेर गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिए ।
क्रसकन्ट्री, टिम क्रसकन्ट्री र एक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान तीन/तीन स्वर्ण जितेका छन् । जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कूल दुई हजार सात सय ५० अङ्कसहित स्वर्ण पदक हात पारेको हो ।
विभागीय टिम आर्मीले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कूल दुई हजार पाँच सय ५५.९ अङ्कसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । उक्त टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।
बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ । कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी हुनुहुन्थ्यो । उहाँहरुले कूल दुई हजार एक सय ४८.३ अङ्क प्राप्त गरेको सङ्घले जनाएको छ ।