नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् ।
झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उनले बताए । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह समेत गरे ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गरे । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने अध्यक्ष ओलीको भनाइ थियो ।
उनले कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नपाएको समेत बताए ।
ओलीले भने, ‘कांग्रेसले काम केही गरेको छैन । उहाँहरूले सधैँ झैं घोषणापत्र त ल्याउनुहोला । भाडाको बुद्धिजीविले लेखिदिएको घोषणापत्र यहाँहरूले जनताको बीचमा छर्नुहुनेछ । त्यो कुनै कांग्रेसको हुनेछैन । पटक-पटक सरकारको नेतृत्व गर्दा कुन एउटा राम्रो काम गर्यो देखाउनुस् । २३/२४ वर्ष सरकारको नेतृत्व गरेको छ । होइन भने हामीसँग सोधे हुन्छ । हामी सयौँ कुरा भन्नेछौँ ।’
मङ्गलबार झापा आएका ओली आज बिहान १० बजेपछि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी भएका छन् ।